बैंक तथा बीमा क्षेत्रको उत्पादन साढे तीन खर्ब, वागमतीको मात्रै ६१.८ प्रतिशत हिस्सा

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ मा हुने बैंक तथा बीमा क्षेत्रको ग्राहस्थ उत्पादन अर्थात् कुल मूल्य अभिवृद्धिमा बागमतीको हिस्सा सबैभन्दा धेरै हुने अनुमान गरिएको छ ।  

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जीडीपी) सम्बन्धी अनुमानित तथ्यांकले यस्तो देखाएको हो । 
यो आवमा बैंक तथा बीमा क्षेत्रको उत्पादन (कुल मूल्य अभिवृद्धि वृद्धिदर) ७.८० प्रतिशतले बढेर ३ खर्ब ४४ अर्ब ३४ करोड ४० लाख रुपियाँ पुग्ने अनुमान गरिएको छ । 

Advertisement

त्यसमा बागमतीको मात्रै ६१.८ प्रतिशत अर्थात् दुई खर्ब १२ अर्ब ८६ करोड १० लाख रुपियाँ बराबरको योगदान हुने तथ्यांक कार्यालयले बताएको छ । 
दोस्रो स्थानमामा भने लुम्बिनी रहेको छ । समीक्षा बर्षमा त्यहाँ बैंक तथा बीमासम्बन्धी उत्पादन ३५ अर्ब ७१ करोड ९० लाख रुपियाँ बराबरको हुने कार्यालयको अनुमान छ । त्योअनुसार बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा लुम्बिनीको हिस्सा १०.४ प्रतिशत हुने देखिन्छ । 

यसैगरि, मधेशमा २३ अर्ब ९९ करोड २० लाख रुपियाँ (सात प्रतिशत), कोशीमा ३१ अर्ब २४ करोड ८० लाख रुपियाँ (नौ दशमलव एक प्रतिशत), गण्डकीमा २७ अर्ब ७२ करोड ९० लाख रुपियाँ (आठ दशमव एक प्रतिशत), कर्णालीमा तीन अर्ब ८७ करोड २० लाख रुपियाँ (एक दशमलव एक प्रतिशत) र सुदूर पश्चिममा आठ अर्ब ९२ करोड ३० लाख रुपियाँ (दुई दशमलव छ प्रतिशत) बराबरको बैंक तथा बीमासम्बन्धी मूल्य अभिवृद्धि अर्थात् उत्पादन हुने अनुमान गरिएको छ । 

कुनमा कति बृद्धिदर ?
समीक्षा अवधीमा बैंक तथा बीमा क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर पनि बागमतीकै उच्च हुने अनुमान गरिएको छ । तथ्यांक कार्यालयकाअनुसार यो आव बागमतीमा बैंक तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर आठ दशमलव ७५ प्रतिशत हुनेछ । 

यसैगरि मधेशमा आठ दशमलव २४ प्रतिशत, कोशीमा सात दशमलव ०२ प्रतिशत, गण्डकीमा चार दशमलव ५५ प्रतिशत, लुम्बिनीमा पाँच दशमलव ९८ प्रतिशत, कर्णालीमा चार दशमलव ११ प्रतिशत र सुदूरपश्चिममा छ दशमलव ३२ प्रतिशतले बैंक तथा बीमा क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर कायम हुने बताइएको छ । 

समग्रमा चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर सात दशमलव ८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै यस क्षेत्रको बृद्धिदरमा बढोत्तरी हुने तथ्यांक कार्यालयको भनाइ छ । 

गत आव २०७९–८० मा यस क्षेत्रको वृद्धिदर सात दशमलव २७ प्रतिशत रहने संशोधित अनुमान पनि गरिएको छ । आर्थिक वर्ष २०७८–७९ मा यस क्षेत्रको वृद्धिदर छ दशमलव ९१ प्रतिशत भएको तथ्यांक कार्यालयको भनाइ छ । 

Advertisement

Advertisement