कोरोना महामारीपछि रोक्किएको थाई एयरवेजको सेवा नेपालमा पुनः शुरु

Advertisement

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ । कोरोना महामारीपछि उडान रोकेको थाई एयरले पुनः सेवा सुरु गरेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । विश्वका ६० गन्तव्यमा उडान गर्ने थाई एयरले नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने काममा आधा शताब्दी लामो इतिहास बनाएको छ । 

Advertisement

थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज थाई एयरवेजको लागि एक उत्कृष्ट साझेदार बनेको छ । नेपालमा पुःन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो । 

हाल थाई एयरवेजले आफ्ना गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । 

थाई एयरवेजका बिक्री निर्देशक खुन विट किचाथोर्नले यो सुरुवातले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने बताए । 

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको बताउँदै यस उडान सेवाले नेपाल र थाइल्याण्डबीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्ने बताए । 

हाल थाई एयरवेजसँग कूल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् । थाई एयरवेजले यात्रुहरुलाई विश्वसँग जोड्दै गर्दा लगातार यात्रुहरुको बढ्दो मागलाई सम्वोधन गर्न उडान सञ्चालनको समय तालिका व्यवस्थित गर्छ जसले गर्दा यात्रुहरुले उत्कृष्ट सेवाको लाभ लिन सक्छन् ।
 

Advertisement

Advertisement