बैंकको एउटा शाखाले सरदर कति जनालाई दिन्छ बैंकिङ सेवा ?

Advertisement

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्था र लघुवित्तका एउटा शाखाले दुई हजार ५१५ जनालाई बैंकिङ सेवा दिनसक्ने देखिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०–८१ को तथ्यांकले यस्तो देखाएको हो । 

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार, विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय साक्षरता प्रवर्द्धनका कारण वित्तीय पहुँचमा सुधार भएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । ‘२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या (लघुवित्त समेत)का आधारमा प्रतिशाखा जनसङ्ख्या २,५१५ पुगेको छ । यस्तो जनसङ्ख्या २०७९ फागुनमा २,५१० रहेको थियो,’ आर्थिक सर्वेक्षणमा भनिएको छ । ‘यस अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ३७ लाख ८३ हजार र इन्टरनेट बैंकिङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार रहेका छन् ।’

Advertisement

चालु आवमा बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र व्याजदर घट्दै गएको छ बताइएको छ । ‘२०८० फागुनमा वाणिज्य बैंकमा रहेको निक्षेपको भारित औसत व्याजदर ६.७४ प्रतिशत तथा कर्जाको भारित औसत व्याजदर १०.७८ प्रतिशत रहेको छ,’ सर्वेक्षण प्रतिवेदनमा भनिएको छ, ‘२०७९ फागुनमा यस्तो व्याजदर क्रमशः ८.३७ प्रतिशत र १३.०३ प्रतिशत रहेको थियो ।’

निजी क्षेत्रतर्फको कर्जा विस्तार पछिल्लो समय समयमा केही वृद्धि भएको बताइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 

२०८० फागुनसम्म एक लाख ३० हजार ८४४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ४९ अर्ब ३० करोड रुपियाँ कर्जा लगानीमा रहेको बताइएको छ । यस्तो कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी तर्फ लगानी भएको छ । त्यस क्षेत्रमा एक खर्ब ७७ करोड लगानीमा भएको तथ्यांकमा उल्लेख छ । 

यस्तै, फागुनसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमा समेत गरी ४३.१६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । समीक्षा अवधीमा बीमा प्रिमियम ४.४ प्रतिशत वृद्धि भई एक खर्ब २४ अर्ब ८९ करोड पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

यस्ते, फागुनसम्म सहकारी संस्था संख्या ३१ हजार ४५० पुगेको छ । त्यसमा ७३ लाख ८५ हजार ५२८ जना शेयर सदस्य छन् । समीक्षा अवधीसम्म सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब ११ करोड रुपियाँ बचत परिचालन भई रू. चार खर्ब पाँच अर्ब तीन करोड कर्जा प्रवाह भएको देखिएको छ ।

Advertisement

Advertisement