भरतपुर, पोखरा र बुटवललाई जोडेर आर्थिक त्रिभूज बनाउने योजना

Advertisement

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । यसअघि पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले यी तीन क्षेत्र जोड्नेगरी द्रुतमार्गहरु बनाउने घोषणा गरिए पनि कार्यान्वयन हुन सकेको छैन् । 

Advertisement

अर्थमन्त्रीले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताए । 

उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । 

त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्नै बताउँदै पुनले बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने, तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने बताए । 

त्रिभूज परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिने जनाइएको छ । 
 
परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने छ । यसपरियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न रु दुई अर्ब विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिए ।

Advertisement

Advertisement