एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । 

बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्‍चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि नेपाल सरकारको रणनीति तयारी र दिगो विकास लक्ष्य कार्यान्वयनको भिआरएन प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

Advertisement

त्यस्तै, ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । 

११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । 

नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्न दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ ।

त्यसैगरी दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका बारेमा छलफल हुने कार्यसूची रहेको छ ।

Advertisement

Advertisement