‘भारत–पाक विवादका कारण सार्क सम्मेलन रोक्न मिल्दैन, अध्यक्षको नाताले नेपालमा गरौं’

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । 

मंगलवार संसद बैठकमा उनले दुई मुलुकबीच थाँती रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेका कुराकानी संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरे । 

Advertisement

पन्तले संसदको विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने पनि बताए । उनले सार्क अलपत्र परेकाले नेपालले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताए । 

पन्तले भने, ‘सार्क लथालिङ्ग भयो । सार्क मात्रै होइन, सार्क युनिभर्सिटी, जो दिल्लीमा छ, त्यसको पनि सार्कको समयमा बैठक नबसेको कारण त्यसमा विभिन्न देशहरुले बजेट दिनुपर्नेमा त्यो समयमा नआएको कारणले यो समेत लथालिङ्ग हुने अवस्थामा पुगेको छ । सार्कको अध्यक्ष भएको नेपालले यो विषयमा इनिसिएशन लिनुपर्छ कि पर्दैन ? यो विषयमा आफ्नो धारणा प्रष्ट राख्नुपर्छ कि पर्दैन ?’ 

उनले थपे, ‘सार्कको सचिवालय काठमाडौंमा छ । नेपालमा छ । त्यसैले यदि भारत र पाकिस्तानको विवादले पाकिस्तानमा सम्मेलन हुन सक्दैन भने भोली श्रीलंका र अन्य कुनै देशमा पर्यो भने हुन सक्दैन भने नेपालले अघि बढेर भन्नु पर्छ । सार्कको ्गतिविधिलाई रोक्न सकिदैन । त्यसको विवाद कुनै देशसँग भएमा हामी काठमाडौंमा सम्मेलन गर्छौं । यो अधिकार चाहियो भनेर भन्नु पर्छ । भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनु भयो । मोदीजीको तेस्रो पटकको सपथग्रहण कार्यक्रम गएर उहाँ आउनुभयो । एयरपोर्टमा आएर उहाँले सबै विषयमा कुरा भएको कुरा गर्नु भयो । हाम्रो सम्बन्ध मित्रतापूर्ण ढंगले अघि बढिराखेको छ भन्नु भयो । यो भन्दा अगाडि पनि त्यसै भन्नुहुन्थ्यो, त्यो भन्दा अगाडि अर्को प्रधानमन्त्रीले पनि त्यसै भन्नु हुुन्थ्यो । तर सिमाको समस्या त्यत्तिकै छ । इपीजीको प्रतिवेदन त्यत्तिकै छ । सन् १९५० को सन्धि त्यत्तिकै छ । भारतसँग थाति रहेका हाम्रा समस्याहरु जस्ताको तस्तै विद्यमान छन् । त्यसैले सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ–प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो । उहाँको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा दुई पक्षीय हितका, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतका बीचमा बाँकी रहेका विभिन्न समस्याहरुलाई समाधान गर्ने विषयमा प्रधानमन्त्रीजीको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा कुराकानी भयो ? उहाँले यो संसदलाई सम्मान गर्ने हो भने आजै आएर यो संसदमा आफ्नो भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रुपमा जानकारी दिनु पर्दथ्यो । त्यसकारण म सभामुखज्युको ध्यानाकर्षण गर्दछु–रुलिङहोस प्रधानमन्त्रीज्यूलाई । भारत भ्रमणको हाम्रो र भारतबीचको विद्यमान समस्या समाधानको विषयमा के कुरा ठोस रुपमा भए, त्यसबारे यो संसदले जानकारी पाओस । संसदको विशेषाधिकार हो सभामुखज्यू यो । सभामुखज्यूले पनि यसमा आँखा चिम्लिन मिल्दैन । ’

सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि ज्युँका त्युँ रहेपनि प्रधानमन्त्री दाहालले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाए । 

Advertisement

Advertisement