बीमासम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलन गर्दै बीमा प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्ष २०८१–८२ मा एसियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । 

आगामी अक्टोबर (असोज–कात्तिक)मा प्राधिकरणले राजधानीमा एसियन मुलुकका बीमा नियामक निकायहरुको सम्मेलन गर्ने भएको हो । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फत प्राधिकरणले यस्तो कार्यक्रम अघि बढाएको हो । 

Advertisement

प्राधिकरणको हालै सम्पन्न बोर्ड बैठकले आगामी आवको नीति तथा कार्यक्रम पारित गरेको छ । सोही नीति तथा कार्यक्रममा आगामी अक्टोबर महिनामा नेपालमा उक्त कार्यक्रम गर्ने तय गरिएको हो ।

कार्यक्रममा नियमनकारी निकायका प्रमुख लगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्थीति हुनेछ । अहिले एसिया महादेशमा नेपालसहित ४८ देशहरु छन् । उक्त देशमा रहेका बीमा क्षेत्रको नियामक निकायहरुलाई सम्मेलनमा उपस्थीति गराउने उद्देश्य लिइएको छ । 

यसपाली एसियन नियामक निकायहरुको सम्मेलन गर्ने पालो नेपालको थियो । सोहीअनुसार सम्मेलन आयोजन गर्न लागिएको प्राधिकरणका उप–निर्देशक साम्भराज लामिछानेले जानकारी दिए । नेपालमा यस्तो सम्मेलन हुन लागेको पहिलो पटक हो ।

उनले भने, ‘हालै सम्पन्न बोर्ड बैठकले आगामी आवको नीति तथा कार्यक्रम पारित गरेको छ । त्यसमा एसियन मुलुकका नियामक निकायहरुको काठमाडौंमा सम्मेलन गर्ने कार्यक्रम पनि रहेको छ । आगामी अक्टोबरमा यो कार्यक्रम हुन्छ ।’ 

आगामी नोभेम्बर महिनामा समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम पनि आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएको छ ।
यस्तै, प्राधिकरणले बीमित हित संरक्षण कोष स्थापना गर्ने नीति पनि ल्याएको छ । यो सहित बीमा क्षेत्रको विकास गर्ने, बीमा पहुँच र साक्षरता बढाउनेलगायतका नियमित कार्यक्रमलाई पनि आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Advertisement

Advertisement