‘प्रोफेसनल’हरुलाई हटाएर आफ्ना पठाउन राजदूतहरु फिर्ता बोलाइयो, यो गलत छः काँग्रेस

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले विभिन्न देशका राजदुतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् । 

मंगलवार संसद भवन परिसरमा उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन् । 

Advertisement

महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाई थियो । 

महतले नेपालको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए । उनले भने, ‘भारत सरकारले नियन्त्रणा गर्यो । उहाँ जानु भयो । त्यसमा त मलाई केही भन्नु छैन । अब प्रतिफलमुखी हुने भनेको चाहिँ हामी आफैमा निर्भर छ । हामीले आफ्नो आवश्यकता, आफना कुराहरुलाई ठिक ढंगले राख्न सक्यौ भने, बुझाउन सक्यौ भने, तर्कपूर्ण तरिकाबाट प्रस्तुत हुन सक्यौं भने हाम्रो मूलभूत राजनीतिको समस्या के छ भने हामीमा आत्मविश्वासको कमी छ । कहिलकाँही हामी चाहिनेभन्दा बढि प्रतिक्रिया दिन्छांै । कहिले हामी बोल्नुपर्ने ठाउँमा पनि बोल्दैनौं । यो जुन प्रवृत्ति छ । त्यसले नेपालको जुन हैसियत विकसित गर्नुपर्ने हो र, आफ्ना राष्ट्रिय स्वार्थहरुलाई प्रोटेक्ट गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौ ।’ 

महतले थपे, ‘जस्तो उहाँहरुले तमाम राजदुतहरुलाई हटाउनु भयो । अब अमेरिका, बेलायत, भारतका राजदूतहरु अत्यन्तै प्रोफेशनल हुन । जसले नियुक्ति गरेको भएपनि उहाँहरु नियुक्ति गर्नेहरुप्रति लोयल होइन, देशको प्रतिनिधित्व गरिरहनुभएको छ । जुनसुकै सरकार भएपनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ । त्यसको बाबजुद यो जसरी गरियो पूर्वाग्रहपूर्ण तरिकाबाट । यो अत्यन्त व्यवसायिक हैसियत राख्ने केही महत्वपूर्ण राजदूतहरु हुनुहुन्छ । उहाँहरुले सिर्फ नेपालको हित कसरी हुन्छ ? भनेर काम गरिरहनु भएको छ । उहाँहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन । तापनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु पर्यो । देशको लागि काम गर्ने मान्छे होइन । मेरो मान्छे त्यहाँ पठाउनु पर्यो भन्ने मान्यताबाट यो निर्णय भएको छ । यो गलत छ । र यो भ्रमणको शिलशिलामा हुने भनेको त झन राम्रो होइन ।’

Advertisement

Advertisement