बैंक तथा वित्तीय संस्थाहरूमा ७.८ प्रतिशतले निक्षेप बढ्दा ४.७ प्रतिशतले बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौं । चालु आवको १० महिना अर्थात बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ७.८ प्रतिशतले निक्षेप बढ्दा कर्जा लगानी ४.७ प्रतिशतले मात्रै बढेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.४४३ अर्ब ८ करोड (७.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.३७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ ।

Advertisement

२०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो । 

२०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०८० बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो ।

चालु आवको १० महिना अर्थात बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ७.८ प्रतिशतले निक्षेप बढ्दा कर्जा लगानी ४.७ प्रतिशतले मात्रै बढेको छ । 

यता, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.२२५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१५३ अर्ब १७ करोड (३.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ ।

२०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत
र ३६.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ३.९ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ ।

२०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.२२५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.८ प्रतिशतले, नगद प्रवाह कर्जा २५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.८ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४४.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.५ प्रतिशतले र हायर पर्चेज कर्जा २१.८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 
 

Advertisement

Advertisement