बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपाका सांसदलाई अदालतको पक्राउ पूर्जी जारी

Advertisement

काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद प्रमोदकुमार साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो ।

प्रहरीको अनुरोधमा अदालतले उनलाई पक्रन पूर्जी जारी गरेको छ, एक उच्च अधिकारीले भने, ‘अदालतबाट पूर्जी जारी भएकाले सांसद साहलाई पक्रन देशभरि पत्राचार गरिने छ।

जहाज ‘डिले’ (ढिलो आएको) भएको भन्दै राष्ट्रिय जनता पार्टी ९राजपा०का सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलको बुद्ध एयरको कार्यालय तोडफोड गरेका छन् । सर्लाही–१ सांसद साहले विमान ढिलो आएको भन्दै काउन्टर तोडेपछि एयरलाइन्सका कर्मचारीले प्रतिवाद गर्दा उनलाई समेत हातपातको प्रयास गरे ।

साँसद साहका अनुसार बिहान सोमबार ११ः४० मा उड्नुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको र एयरलाइन्सले आफूलाई बेवास्ता गरेको भन्दै तोडफोड र कर्मचारीलाई धक्का दिएका थिए। किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने बाध्यता हुँदा पनि जहाज आउने, नआउने स्पष्ट जानकारी नदिएको र कुरा बुझ्न काउन्टरमा जाँदा पनि आलटाल गरेकाले रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भएको स्वयम साँसदले स्वीकार गरेका छन् ।

बुद्ध एयरको काउन्टरमा यस्तो घटना भएपछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको छ। उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।

Advertisement

Advertisement