अपी पावरले ७४० करोडको लगानीमा माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने

Advertisement

काठमाडौँ । अपी पावर कम्पनीले अब  नयाँ आयाजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने भएको छ । यसका लागी चाहिने सबै स्वीकृतिहरु प्राप्त भएको कम्पनीले जनाएको छ ।

चमेलिया जलविद्युत आयोजना सुदुर पश्चिमाञ्चल प्रदेशको दुर्गम जिल्ला दार्चुलामा अवस्थित आयोजना हो । यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ केभि ट्रान्समिसन लाइनमा जडान गरिने हुँदा यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणको लागी सजिलो भएको छ । यो आयोजना बाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथि रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२ डायमिटरको पेनस्टक पाइप को सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ ।

यो अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको छ । कम्पनीले आफना शेयरधनीहरुलाई उच्च दरले मुनाफा दिने जनाएको छ । कम्पनीले ८ मेगावाटको माथिल्लो नौगडगाड आयोजना निर्माण सम्पन्न गरी १३ गतेदेखि राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । योसँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको जनाएको छ ।

यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ । यो विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आय आर्जन गर्नेछ । यो आयमा बार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ । अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईनमा जडान भई विद्युत प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत सहज ढंगले प्रवाह गर्न सकिएको छ । कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध हुनेछ र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जानेछ ।

यो आयोजना निर्माणको लागी नेपाल एसबिआई बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगत रु. १२० करोड कर्जा उपलब्ध भएको कम्पनीले जनाएको छ । यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ ।

यस आयोजनामा एन्ड्रीज हाइड्रोद्वारा उत्पादन गरिएको दुई सेट टर्बाइन तथा जेनरेटर लगाएतका उपकरणहरु जडान गरिएको छ । यस अघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मेवा साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजना विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले आफना शेयरधनीहरुलाई नियमित रुपमा लाभांश वितरण गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement