सङ्कटमा परे सुर्खेतका हाते कागज उद्योग

Advertisement

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब रु सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले सङ्कटमा परेको हो ।

उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले उद्योग चलाउन मुस्किल परेको बताए । ‘लगानीअनुसार आम्दानी गर्न सकिएन, मुख्य समस्या कच्चा पदार्थ र उत्पादित कागजले बजार नपाउनु नै हो’, उनले भने, ‘कालीकोट, जुम्लाबाट लोक्ता ल्याउनुपर्छ, नजिकै लोक्ता नहुँदा ढुवानीमै ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाले उद्योग घाटा बेहोर्नुपर्यो ।’ लोक्ता कागज उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उद्योगबाट नोटबुक, डायरी, रजिष्ट्रार, फोटोकपी पेपर, गिफ्टबक्स, गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक सामग्री उत्पादन हुँदै आएका छन् ।

नेपाली कागजको थुप्रै महत्व भए पनि गाउँघरमा यसको बजार नहुँदा समस्या भएको उनको गुनासो छ । उहाँले थुपै्र पटक स्थानीय र प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको बताए । उनले भने, ‘पहिला सम्भावना देखेर फरक व्यवसायका रुपमा कागज उद्योग सञ्चालन गर्ने सोच बनाएँ, अहिले लगानी नै डुब्ने अवस्था सिर्जना भयो, नगरपालिका र प्रदेश सरकारबाट बजारीकरणमा कुनै सहयोग पाइएन्, ।’ साथै उहाँले उद्योगलाई आधुनिक औजार तथा भण्डारणका लागि भौतिक संरचना आवश्यक परेको बताए ।

Advertisement

Advertisement

Advertisement