उखु किसानलाई भुक्तानी नदिने उद्योगीको बैंक खाता रोक्ने निर्णय, पक्राउ गरी बुझाउन गृहलाई पत्र

Advertisement

काठमाडौँ । उद्योग मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीको बैंक खाता रोक्का गर्न पत्राचार गर्ने भएको छ । उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बैंक खाता रोक्न पत्राचार गरिएको बताए ।

अन्नपूर्ण, इन्दिरा र लुम्बिनी मिलको खाता रोक्का गर्न पत्राचार गरिएको छ, मन्त्रालयको सम्पर्कमा नरहेका उद्योगीहरुलाई सम्पर्कमा ल्याइदिन गृह मन्त्रालयलाई पनि पत्र पठाइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले बताए । उनले भने–‘सम्पर्कमा नरहेका उद्योगीलाई समातेर ल्याउन पत्राचार गरिएको छ ।’

यता, माघ ७ भित्र उखु मिलले किसानलाई तिर्नु पर्ने १ अर्ब बक्यौता दिलाउँछौँ भनी सरकारले सम्झौता गरेपनि किसानले रकम पाउन सकेका छैनन । पाउनु पर्ने बक्यौता रकमको माग गर्दै विभिन्न जिल्लाका किसानहरुले काठमाडौँमा प्रदर्शन गरेपछि पुस १८ मा सरकार र उखु किसानबीच सम्झौता भएको थियो । उक्त पाँच बुँदे सम्झौताको समय मंगलबारदेखि सकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ करोड ७५ लाखमात्रै बक्यौता रकम किसानहरुले पाएका छन् ।

कुन मिलले कति तिर्न बाँकी ?
मन्त्रालयकाअनुसार अन्य १० वटा चिनी मिलबाट लगभग १ अर्ब बक्यौता रकम उठ्न बाँकी छ ।

महालक्ष्मी सुगर मिलले किसानलाई १० करोड ९० लाख, अन्नपूर्ण मिलको २६ करोड १० लाख, श्रीराम सुगर मिलको २६ करोड, ७७ लाख, इन्दिरा सुगर मिलको १० करोड ४८ लाख, बाबा बैजुनाथ मिलको २५ लाख ५६ हजार, लुम्बिनी चिनी मिलको १० करोड ७४ लाख, महाकालीको ६२ हजार, रिलाइन्स मिलको ११ लाख ५३ हजार, एभरेस्टको ७ करोड ३९ लाख र वाग्मती खाडसारीको ६ करोड ७५ लाख गरी करिब १ अर्ब रकम बक्यौता तिर्न बाँकी छ ।

उखु किसानसँगको सम्झौताअनुसार बक्यौता रकम बुझाउन अटेर गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मंगलबार बैठक बोलाएको थियो । तर, उक्त बैठकमा श्रीराम चिनी मिल र महालक्ष्मी चिनी मिलका प्रतिनिधिमात्रै उपस्थित भएका थिए । बाँकी चिनी मिल सञ्चालकहरु सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement