राष्ट्रिय दादुरा–रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

Advertisement

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६।७७ मा सघाउने भएको छ यस खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्ने जनाएको छ । फागुन १ गते शुरु भई ३० सम्म सञ्चालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १,२ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाईनेछ ।

त्यसैगरी दोस्रो चरण चैत्र १ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ । यो चरणमा बाँकी प्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाईनेछ ।

“दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट धेरै सहयोग प्राप्त भएको भन्दै परिवार कल्याण महाशाखाका प्रमुख झलक शर्मा गौतमले भविश्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहने आशा राखेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेला खोप अभियानअन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हर्षित भएको भन्दै सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्र एनसेलको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

सरकारी तथ्याङ्कले सन् २०१५ पछि दादुरा रुबेला रोगका घटनाहरु निकै नै बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पूरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत (२०११) रहेकोमा सन् २०१६ सम्ममा ७८ मा प्रतिशतमा घटेको छ ।
सरकारसँगको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निवारण गर्ने सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुरÞ्याउने एनसेलको विश्वास छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू जस्तै अन्धोपना, इन्सेफ्लाईटिस्, पखाला र न्युमोनिया हुनका साथै मृत्युसमेत हुन सक्छ । रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ साल असोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको स्मरण गर्दै मन्त्रालयसँगको यही समझदारीअन्तर्गत आफूहरुले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेला खोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिका लागि सरकारलाई सहयोग गरेको बताएको छ । यसअघि एनसेलले स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्घिको सहकार्यअन्तर्गत डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिको लागि सहयोग गरेको थियो ।

Advertisement

Advertisement

Advertisement