महरा अब संसद सदस्यको रुपमा सक्रिय हुने, कसरी दिलाइयो सफाई ?

Advertisement

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाइ पाउने प्रमुख आधार बनेको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनास्थलमा बरामद भएका सामानको औंठाछाप पनि प्रतिवादीसँग मेल नखाएको भन्ने अर्को तथ्यलाई सफाइको आधार बनाएको छ ।

‘फैसलाको पूर्णपाठ तयार भइसकेको छैन, त्यो आएपछि विस्तृत रूपमा स्पष्ट हुनेछ,’ जिल्ला अदालतका स्रेस्तेदार आनन्दकुमार श्रेष्ठले भने, ‘अदालतमा प्रतिवादीको इन्कारी बयान थियो, जाहेरीकर्ताले पनि प्रतिवादीको भनाइसँग मेल हुने गरी कुटपिट र अरू घटना नभएको बयान दिएकाले आरोपबाट सफाइ ठहर्ने भनी रायकिताबमा राय व्यक्त भएको छ ।’

रायकिताबको रायअनुसार घटनास्थलमा बरामद भएका गिलासलगायत सामानमा भेटिएको हस्तरेखा र आरोपितहरूको हस्तरेखाको तुलनात्मक अध्ययनबाट पनि प्रतिवादी घटनामा संलग्न भएको पुष्टि हुन नसकेको उल्लेख छ । हस्तरेखाको अध्ययन गरेका विशेषज्ञले औंठाको छापमा तुलनात्मक अध्ययन गर्न र विश्लेषण गर्न नसकिएको राय दिएका थिए । बयानमुखी अनुसन्धान पद्धतिमा मुद्दाका सरोकारवालाले अदालतमा गर्ने बयानलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । जिल्ला अदालत काठमाडौंले त्यही बयानलाई प्राथमिकता दिएर न्यायनिरूपण गरेको देखिन्छ ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६ (परिवर्तित नाम)माथि बलात्कारको प्रयास गरेको आरोपमा पूर्वसभामुख महराविरुद्ध गत कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैदको मागदाबी गरेको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेमा जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमार्फत उच्च अदालतमा पुनरावेदन गर्न पाउँछ । फैसला चित्त बुझाएमा पुनरावेदन नगर्ने निर्णय पनि हुन सक्छ तर त्यसका लागि फाइल तहगत निर्णय गर्दै महान्यायाधिवक्तामार्फत सदर गर्नुपर्छ ।

जिल्ला अदालतको फैसलासँगै महरा कानुनी रूपमा ‘निर्दोष’ ठहर भएकाले अब नेकपा सांसदका रूपमा क्रियाशिल हुनेछन् । नैतिकताको सवाल उठेपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । सभामुख हुँदा नै पार्टी सदस्यता त्यागेकाले अब पार्टीमा उनको के भूमिका हुने भन्नेबारे टुंगो लागेको छैन ।

मुद्दाबारे जानकार अदालतका एक कर्मचारीका अनुसार अरू प्रमाण जे–जस्तो भए पनि पीडितको निवासभित्र पसेपछि के भयो भन्नेबारे पीडित र आरोपितबाहेक अरूलाई थाहा थिएन । ‘अरू प्रमाण नभएको अवस्थामा उनीहरूको बयानलाई नै अदालतले प्रमाणका रूपमा ग्रहण गरेको हुनुपर्छ,’ ती कर्मचारीले भने, ‘पीडितले स्वास्थ्य परीक्षणका क्रममा कुटपिटबाट चोट र दाग भएको भनेर रिपोर्टमा लेखिएका कुरालाई अदालतले कसरी हेर्यो, पछि पूर्णपाठ आएपछि मात्रै थाहा होला ।’

किटानी जाहेरी दिने ‘नयाँ बानेश्वर २६’ ले आफ्नो मुखमा महराले बारम्बार प्रहार गरेको र बलात्कारको प्रयास गरेको दाबी गरेकी थिइन् । ‘उनले मेरो मुखमा बारम्बार मुक्का हाने, अनि मैले पछाडिबाट पेन्टमा समाएँ र प्रहरीलाई बोलाउने चेतावनी दिएँ,’ प्रहरी प्रतिवेदनमा उल्लेखित मेडिकल रिपोर्टमा भनिएको थियो, ‘अनि मैले गुहार मागेर चिच्याएँ, त्यसपछि उनी भान्साकोठाको ढोका प्रयोग गरेर भागे । ममाथि आक्रमण गर्दा उनी मदिराले मातेका थिए ।’
पछि पीडितले भने आफ्नो भनाइ फेरेकी थिइन् । उनले आफूलाई प्रहरीले दबाबमा पारेर किटानी जाहेरी दिन लगाएको बयान दिएकी थिइन् । सरकारी वकिल कार्यालयका अधिकारीहरूले भने पूर्णपाठ आएपछि मात्रै सफाइको आधार थाहा हुने भन्दै अहिल्यै प्रतिक्रिया दिनु हतारो हुने बताए ।

महराले बलात्कारको आरोपबाट सफाइ पाए पनि प्रहरी र सरकारी वकिलको दाबीअनुसार आरोप पुष्टि हुने कैयौं प्रमाण थिए । प्रहरीले दाबी गरेका प्रमाणभन्दा महरा र पीडितको बकपत्रलाई अदालतले महत्त्वपूर्ण प्रमाण मानेर उनीहरूकै बयानअनुसार घटना भएको पुष्टि नभएको दाबी गरेको देखिन्छ । आरोपपत्रमा प्रहरीले प्रमाण भनी दाबी गरेका कैयौं विवरण छन्, जसलाई अदालतले स्वीकार गरेको देखिँदैन ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement