डा. सा’बः ६ महिनापछि ‘वान्स मोर, की नो मोर’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका लागि डा. युवराज खतिवडा कति महत्वपूर्ण व्यक्ति हुन भन्ने बुझ्न अब अरु कुनै तथ्य खोजिरहनु परेन् । ‘२०७४ फागुन ८ गते राष्ट्रिय सभा सदस्य र फागुन १४ गते अर्थमन्त्रीको जिम्मेवारी, त्यसपछि अहिले पुनः अर्थमन्त्रीका रुपमा निरन्रतता’, यति घट्नाक्रम हेरिसकेपछि ओलीको नजरमा खतिवडाको तस्विर कस्तो छ भन्ने प्रष्टै हुन्छ ।

ओलीले खतिवडाका लागि आफ्नै अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णय नमान्ने अठोट गरे । बरु सचिवालयका नेताहरुलाई ‘परेको व्यहोर्छु’ सम्म भन्न भ्याए । फागुन १४ गतेको सचिवालय बैठकले गरेको निर्णय नमान्ने ओली अडानले उनको सत्तालाई हल्लाउने अवस्था आएको थियो तर ओली टसमस भएनन् र अन्ततः बिचको बाटो रोज्ने निष्कर्ष निस्कियो । जस अनुसार हालसम्म सार्वजनिक भएका सूचनालाई आधार मान्ने हो भने राष्ट्रिय सभामा बामदेव गौतमलाई नै लैजाने र अर्थमन्त्रीमा डा. खतिवडालाई निरन्तरता दिने भन्ने नै हो ।

ओलीले आफुलाई तत्कालिन नेकपा(एमाले)को अध्यक्ष निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका गौतमको साटो डा. खतिवडालाई त्यसै च्यापेनन् होला ।

ओलीलाई ओली बनाउन सघाउने बिष्णु पौडेल, प्रदिप ज्ञवाली पनि अर्थ मन्त्री बन्न चाहान्थे । तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेल त अन्तिम समयसम्म अर्थमन्त्री बन्ने प्रयास मै थिए । यी बाहेक माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर सफल दरिएका र प्राक्टिकल अर्थ राजनीतिक व्यक्तित्वको छवि बनाएका सुरेन्द्र पाण्डेले पनि कसरत नगरेका होइनन् । तर पनि ओलीले डा. खतिवडालाई नै काखी च्यापे । हुनतः यतिबेला कोशी पूर्वकाहरुको भाग्य चम्किएको छ पनि भनिन्छ । त्यसमा पनि झापालीहरु कोही बेरोजगार बस्नु पर्दैन भन्ने पनि सुनिन्छ तर ओलीले खतिवडालाई पक्कै पनि झापाली भएकै कारण च्यापेका होइनन् ।

ओली शासनमा खातिवडा खास
नेकपाले चुनावी घोषणा पत्रमा ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा अघि सारेको थियो । पछिल्लो केहि समयदेखि ओलीले आफुलाई ‘विकास पुरुष’का रुपमा परिचित गराउने प्रयास पनि गर्दै आएका थिए । देश विकास गराउन वित्तिय अनुशासन, उत्कृष्ठ आवधिक योजनाहरु, कर्मचारीहरुको परिचालन र दातृ निकायहरुलाई विश्वासमा लिन सक्ने क्षमता जस्ता गुण आवश्यक पर्छ भन्ने तथ्यसँग ओली भलिभाँती जानकार थिए ।

यी सबै काम गर्न सक्ने पात्र सुरेन्द्र पाण्डे हुन सक्थे तर उनी ओली गुटका थिएनन् । आफ्नो कोर गुट भन्दा बाहिरका मान्छेलाई त्यसरी जिम्मेवारी दिन सक्ने अवस्थामा ओली थिएनन् । त्यसकारण उनले रोज डा. खतिवडा ।

नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा वित्तिय क्षेत्रको ज्ञान र कर्मचारी प्रशासन चलाएको अनुभव, राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा आवधिक योजना बनाउन सक्ने अनि यी दुबै निकायमा बसेर काम गर्दा दातृ निकायहरुसँग स्थापित गरेको सुमधुर सम्बन्ध । यी गुणका अलवा डा. खतिवडासँग भएको अर्काे गुण पनि थियोः झापाली । यी र यस्तै गुणहरुका कारण ओलीका लागि ‘खतिवडा खास’ बन्न सकेको हुन् ।

पार्टी पंत्तिको अपनत्व
डा. खतिवडा विज्ञ हुन, तर उनले चलाएको अर्थमन्त्रालय प्रति नेकपा पंक्तिले अपनत्व ग्रहण गर्न नसकेको सूचना स्वयं प्रधानमन्त्री ओलीसम्म पनि पुगेको छ । त्यस सूचनाका आधारमा ओलीले डा. खतिवडाका व्यवहार जन्य पक्ष सुधार गर्ने आश्वासन सचिवालयका नेताहरुलाई दिलाएका थिए । त्यसो त खतिवडालाई ‘कर मन्त्री’को उपमा दिएर नेकपाकै कार्यकर्ता पनि खोईरो खनिरहेका देखिन्छन् । लोकतन्त्रमा सरकारले लिएका नीति कार्यक्रमहरुको अपनत्व कार्यकर्ताले ग्रहण गर्ने र तिनै कार्यकर्ता मार्फत नागरिकसम्म पुर्याउँदै जनमत बढाउने गरिन्छ ।

तर डा. खतिवडाले अघि सारेका कार्यक्रमहरुमा पार्टी पंक्ति र कार्यकर्तामै असन्तुष्ठि रहेको बताइन्छ । त्यसको कारण भनेको खतिवडाको कार्यशैली नै हो । उनी हत्तपत्त कसैका कुरा सुन्दैनन् । गुनासो गर्न पुगेकाहरुलाई उल्टै प्रवचन दिएर पठाउँछन भन्ने आरोप छ । उनले पार्टी पंक्तिलाई आफ्ना कार्यक्रमबारे बुझाउन सक्नुपर्छ ।

उद्योगी व्यवसायीका कुरा
नेकपा निकटकै उद्योगी व्यवसायीले समेत डा. खतिवडालाई रुचाईरहेका छैनन् । त्यसका दुई वटा कारण हुन सक्छन् । पहिलो कारण भनेको हिजो जसरी उद्योग व्यवसाय सञ्चालन गरिएको थियो, जसरी छिद्रहरुको उपयोग गरिन्थ्यो, आज त्यो रोकिएर पनि हुन सक्छ । दोश्रो, खतिवडाले आफ्ना कुरै नसुनेर नि हुन सक्छ । हुनतः उनले कोही उद्योगी व्यवसायीसँग एक्ला एक्लै भेट्दिन भनिरहेका हुन्छन् । आफ्ना माग लिएर सामुहिक रुपमा आउन भनिरहेका हुन्छन् । तर लगानी गर्ने उद्योगी व्यवसायी नै चिडिए भने समृद्धि सपना पुरा हुन्न भन्ने तथ्यलाई पनि बिर्सन हुन्न ।

यद्यपी पछिल्लो समय खतिवडाले ‘अरुको कुरै नसुन्ने’ आरोप भने चिर्दै आईरहेका छन् । केहि महिना अघि मात्रै उनले धनगढीदेखि झापासम्म एक दर्जन भन्दा बढी उद्योग बाणिज्य संघ संगठनका कार्यक्रममा सहभागीता जनाएका थिए । पछिल्लो समय उनले बैंकर्स एसोसियसनसँग घनीभूत छलफल गरे । सार्वजनिक कार्यक्रममा जान खासै नरुचाउने छवी भएका डा. खतिवडाले त्यसलाई चिर्न थालेका छन् । डा. खतिवडाले अघि सारेका आर्थिक नीति तथा सुधारका कार्यक्रम प्रति कसैले सिधै औला उठाईरहेको अवस्था छैन् । खाली सबै खाले सुधार एकै पटक गरियो, विस्तारै गर्दा हुन्थ्यो भन्ने आसय मात्रै निजी क्षेत्रबाट व्यक्त भएको देखिन्छ ।

सञ्चार माध्यमसँगको सम्बन्ध
खतिवडाले यसबिचमा सुधार्नै नसकेको पक्ष भनेको सञ्चार माध्यमसँगको सम्बन्ध हो । उनले मिथ्यांकमा टेकेर आफु र सरकार विरुद्द भ्रम फैलाईएको आरोप लगाउँदै आएका छन् । यस्तो घेरा बन्दीलाई चिर्न उनले सूचनाहरुको सहि सम्प्रेषणको व्यवस्था मिलाउनुपर्छ । त्यस बाहेक गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्ने कोर टिम पनि बनाउनु आवश्यक छ जसले निश्चित समय अवधी भित्र उनलाई सुझाव दिने र सच्चिने काममा सहयोग गरोस् । उनले नियतबस आफु र सरकार विरुद्ध लेख्नेहरु र गुण दोषका आधारमा सूचना सम्प्रेषण गर्नेहरुको पहिचान गरेर सोही अनुसारको रणनीति बनाउनुपर्छ । कम्युनिष्ट पार्टीको कार्यकर्ता र मन्त्री भएपछि त्यहि अनुसारको प्रचार रणनीति बनाउनुपर्छ । साथै, आफ्नो प्रेस सल्लाहकारको टिमलाई पनि थप बजबुत बनाउनु आवश्यक छ ।

'वान्स मोर, की नो मोर'
यतिबेला व्यापक आलोचनाका बीच केपी ओलीले डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिएका छन् । अब डा. खतिवडाले २ वर्षे कार्यकालको लेखाजोखा गरेर आफ्ना व्यवहारजन्य कमजोरीलाई सुधार गर्दै ६ महिनापछि ‘नो मोर होइन, वान्स मोर’ भन्ने वातावरण बनाउनुपर्छ ।

Advertisement

Advertisement

Advertisement