औषधिमा समस्या आउन नदिन हामी विकल्प दिन्थ्यौं, तर सरकार छलफल नै गर्न खोज्दैनः हरिभक्त शर्मा

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षसमेत भइसकेकका देउराली जनता फर्मास्युटिकल्स प्रालीका प्रवन्ध निर्देशक हरिभक्त शर्माले औषधिको आपूर्ति सहज बनाउने विषयमा सरकारले सरोकारवाला उद्योगीहरुसँग कुनै छलफल नगरेको बताएका छन् ।

भारतले औषधि निर्यातमा गरेको कडाईसँगै नेपालमा यसको कृतिम अभाव सिर्जना हुन थालेको छ । उद्योगी शर्माले मुलुक संकटमा परेको बेला सरकारलाई सहयोग र सहजीकरण गर्नु औषधि उत्पादकहरुको पनि दायित्व हो भन्दै उनले तर सरकारले यस गम्भीर विषयको समाधान के कसरी गर्ने ? भन्ने विषयमा कुनै छलफल गर्न नखोजेको बताए ।

उनले अत्यावश्यकबाहेकका बाँकी सबै औषधिहरु नेपाली उद्योगीहरुले नै उत्पादन गर्नसक्ने र ३–४ महिना ती औषधिहरुको समस्या नहुने भन्दै नेपालमा उत्पादन नहुने केही औषधि र नेपाली उद्योगीहरुका लागि आवश्यक औषधिको कच्चा पदार्थको आपूर्ति भारतबाट हुन सकेन भने कहाँबाट गर्ने ? भन्ने विषयमा आफूहरु उपाय दिन तयार भए पनि सरकारले यस विषयमा छलफल अघि नबढाएको बताए ।

शर्माले भने– कोरोना नेपाल भित्रिएको छैन् । भित्रिहालेपछि समस्याको उपाय खोज्ने भन्दा अहिले नै चनाखो भएर तयारी गर्नुपर्ने थियो । तर स्वास्थ्य मन्त्रालय यस्तो गम्भीर चुनौतिको समाधान कसरी गर्ने भनेर छलफल गर्न खोज्दैन् । हामी औषधि आपूर्ति सहज बनाउन हरेक विकल्प दिन तयार थियौं । भारतले हतारिएर औषधि र औषधिजन्य कच्चा पदार्थको निर्यातमा कडाई गरेको छ । अधिकांश यस्ता वस्तुहरु भारतबाट आयात हुँदै आएको छ । भारतको निर्णयसँगै नेपालमा औषधि बिक्रेताहरुले बजारमा कृतिम अभाव सिर्जना गर्न थालेपछि संसदमा समेत यसको कडा अनुगमन गर्न माग गरिएको छ ।

उद्योगी शर्माले नेपालमा औषधिको अभाव हुन नदिन औषधि उत्पादकहरुलाई सरकारको सहयोग चाहिन्छ भन्दै त्यो सहयोग आफूहरुले आफ्नो फाइदाको लागि नभई मुलुकमा औषधिको अभाव हुन नदिन कच्चा पदार्थमा सहजीकरण गर्ने कुराका लागि भएको बताए । उनले भारतको देखासिकी गर्दै केही औषधिहरुमा सरकारले मूल्य नियन्त्रण गर्दा आफूहरुले ती औषधि उत्पादन गर्न नसकेको पनि गुनासो गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत आफ्नो मुलुकमा कोरोनाको संक्रमण देखिएसँगै सबै सरोकारवालाई बोलाएर समस्या समाधानको लागि छलफल गरेको तर नेपाल सरकार र विशेषगरी स्वास्थ्य मन्त्रालय यस विषयमा मौन देखिनु राम्रो नभएको बताए ।

अभाव हुन दिन्नौंः औषधि उत्पादन संघ

नेपाल औषधि उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गरी औषधिको अभाव हुन नदिने स्पष्ट पारेको छ । संघले अहिले आफूहरुसँग तीन महिनाका लागि आवश्यक पर्ने औषधि र कच्चा पदार्थ एवं प्याकिङ सामग्री रहेको पनि स्पष्ट पारेको छ ।

हाल नेपालमा ६२ जटा एलोपेथिक औषधिका उद्योगहरु रहेका छन् । हाल भारतले २६ वटा उत्पादन र कच्चा पदार्थको निर्यातमा रोक लगाएको छ । भारतले निर्यातमा कडाई गरेसँगै नेपालमा औषधि बिक्रेताहरुले बजारमा कृतिम अभावसमेत सिर्जना गर्न थालेको छन् ।

आफूहरुले भूकम्प र नाकाबन्दी जस्ता समयमा समेत औषधिको अभाव हुन नदिएको बताउँदै संघले आफ्नो विज्ञप्तिमा भारत र चीनबाहेक अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र आफूहरु जुनसुकै मुलुकबाट यस्ता कच्चा पदार्थ आयात गर्न सक्षम रहेकोले औषधिको अभाव हुन नदिने स्पष्ट पारेको छ ।

Advertisement

Advertisement

Advertisement