बोर्डले ब्रोकरलाई भन्यो-‘कार्यालयमा पाँच जना भन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नगर्नू’

Advertisement

काठमाडौँ । शेयर कारोबार सेवा प्रदायकहरुलाई सावधानी अपनाउन नेपाल धितोपत्र बोर्डले अनुरोध गरेको छ ।

आज बोर्डमा धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरु वीच कोरोना भाइरसका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको जनाइएको छ ।

बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार छलफल पछि बोर्डले हाललाई धितोपत्रको दोस्रो बजार कारोबारमा संलग्न पक्षहरुलाई पाँच बुँदे अनुरोध गरेको छ ।
१. धितोपत्र दलाल व्यवसायीहरुले स्क्रिन एक्जिविशन रुम बन्द गर्ने ।

२. कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जना भन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्ने ।

३. कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, सेनिटाइजर तथा मास्क्को प्रयोग र तापक्रम मापन कार्य गर्ने व्यवस्था गर्ने ।

४. कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने ।

५. नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति चैत ५ गतेको निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।

Advertisement

Advertisement