ब्याजदर घटाउने राष्ट्र बैंकको क्रान्तिकारी कदमः बैंकर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अघि सारेको राहत प्याकेजलाई बैंकरले ‘क्रान्तिकारी कदम’का रुपमा टिप्पणी गरेका छन् ।  बैंकर्स संघका अध्यक्ष भुवन दाहालले ‘ब्याजदर यति बिन्दुले घटाउ’ भन्ने राष्ट्र बैंकको कदम क्रान्तिकारी भएको टिप्पणी गरे । ‘बैंकहरुलाई ब्याजदर यति घटाउ, उति घटाउ भन्ने निर्देशन पहिलो पटक आएको हो । त्यसैले यो क्रान्तिकारी सर्कुलर हो, हामी यसको प्रभावका बारेमा अध्ययन गर्नेछौं ।’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बैंकर्स संघका अध्यक्ष दाहालले भने ।

क्रान्तिकारी शब्दलाई कुन अर्थमा बुझ्ने भन्ने कर्पाेरेट नेपालको प्रश्नमा अध्यक्ष दाहालले थपे–‘यो केन्द्रिय बैंकका तर्फबाट आएको पहिलो निर्देशन हो, त्यसकारण हो क्रान्तिकारी छ, अहिलेलाई यति मात्रै भन्छु, हामी यसको प्रभाव अध्ययन गर्छाै ।’

विश्व बैंक र आइएमएफले समेत दोश्रो विश्व युद्धपछिको ठुलो आर्थिक संकटका रुपमा कोरोनालाई लिएकाले संसारभरका केन्द्रिय बैंकले ब्याजदर घटाउने नीति लिएको पनि उनले बताए । तर राष्ट्र बैंकले प्रतिशत नै तोकेर ब्याजदर घटाउन निर्देशन दिएको पनि भने उनले कुटनीतिक शैलीमा असन्तुष्टि जनाए ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले आगामी २ महिना बैंकहरुको आम्दानी पुरै घट्ने बताए । ‘ऋणको साँवा ब्याज पनि अहिले नउठ्ने, जरिवाना पनि छुट छ, यसको अर्थ बैशाखदेखि असारसम्म बैंकहरुको आम्दानी हुँदैन् ।’, सिइओ उपाध्यायले भने ।

राष्ट्र बैंकले ऋणीलाई ब्याजमा सहुलियत, वर्किङ क्यापिटल लोनमा १० प्रतिशत ऋण थपिदिने, आधार ब्याजदर भन्दा न्युन ब्याजदरमा पनि ऋण दिन पाइने, ऋण भुक्तानीको अवधी २ महिना थप गरिदिएको बताए । राष्ट्र बैंकले अघि सारेका कतिपय व्यवस्थाले बैंकहरुलाई ऋण उठाउनै समस्या पर्न सक्ने जोखिम रहेको पनि उनले बताए ।

Advertisement

Advertisement

Advertisement