उद्योगहरु खोल्न सरकारले लियो खुकुलो नीति, शुक्रबारदेखि देशभरका यी उद्योग सञ्चालन हुने

Advertisement

काठमाडौं । सरकारले शुक्रबारबाट देशभरका उद्योग संचालन गर्नका लागि खुकुलो नीति अवलम्बन गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद्को बैठकले शुक्रबारबाट देशभरका उद्योग संचालन गर्न बातावरण सिर्जना गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म थप गरेपनि उद्योगहरु सञ्चालन गर्न खुकुलो नीति अवलम्बन गर्ने निर्णय गरेको उद्योगमन्त्री लेखराज भट्टले बताए । हिजो आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरकारले उद्योगहरु सञ्चालनका लागि खुकुलो नीति अवलम्बन गर्न लागेको संकेत गरेका थिए । सोही अनुसार मन्त्री परिषद्ले यस्तो निर्णय गरेको हो ।

सरकारले उद्योगलाई अत्यावश्यक वस्तु उत्पादन, निर्माण र निर्यातसम्बन्धी गरी तीन चरणमा वर्गीकरण गरेर उद्योग सञ्चालनको तयारी गरेको जनाइएको छ । पहिलो चरणमा खाद्य उद्योग, दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित उद्योग र तेस्रो चरणमा निर्यातमुलक उद्योग खोल्ने गरी सोही अनुसार बातावरण निर्माण गरिने मन्त्री भट्टले उल्लेख गरे ।

अध्ययन समिति प्रतिवेदन तयार गर्दै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनमा बन्द भएका उद्योग सञ्चालनको उपयुक्त विकल्प खोज्न अध्ययन समिति गठन गरेर काम गरिरेको छ । उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखाका प्रमुख पुष्कर शाहीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बन्द भएका उद्योग सञ्चालनको विकल्प खोज्न समितिमा अर्थ, कृषि, श्रम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि छन् । समितिमा निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चम्बर अफ कमर्श र घरेलु तथा साना उद्योग महासंघका १–१ जना प्रतिनिधि पनि छन् ।

उक्त समितिले लकडाउनबाट उद्योग व्यवसायमा परेको असरका बारेमा अध्ययन गरेर औद्योगिक र व्यवसायिक क्षेत्र सञ्चालनको लागि आवश्यक सुझाव तयार पार्ने र सरकारलाई थप सुझाव दिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement