नेपाली उत्पादनलाई प्रोत्साहन गर्न तिब्बत सरकारका अध्यक्षसँग मुख्यमन्त्री पौडेलको आग्रह

Advertisement

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल र चीनबीच रहेको ब्यापार घाटा न्युनीकरणका लागि यहाँ उत्पादित बस्तुलाई तिब्बतमा प्रोत्साहन गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच बिहीबार काठमाडौंमा भएको शिष्टचार भेटवार्ताका क्रममा उनले यस्तो कुरा बताएका हुन् ।

सहकार्यका विविधि विषयमा छलफल गर्दै मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका बिकास निर्माण कार्यहरु नेपालका लागि पनि अबसर भएको बताए । चीनसंग नेपालको सिमाना जोडिएकोले त्यहाँको बिकासबाट पनि नेपालले फाईदा लिन सक्ने उनको भनाई थियो । यसैगरी नेपाल तथा चीनबीच सम्पन्न बीआरआई अन्तर्गत सहयोग सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सञ्जाल अन्तर्गत सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह, तथा सञ्चार क्षेत्रमा भएको बिभिन्न समझदारीको उनले प्रशंसा गरे ।

रसुवागढी–स्याफ्रुबेसी सडकको स्तरोन्नती कार्य सुरु भएकोमा खुशी ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले केरुङ–काठमाण्डौ रेलमार्ग एबम् रसुवागढी–काठमाडौँ सुरुङ मार्ग सम्भाब्यता अध्ययनका लागि समझदारी भएको खुशी ब्यक्त गरे । यसैगरी तातोपानी–जाङ्गमु सीमा नाका पुनः सुचारु गर्नका लागि भएको तिब्बतको सहयोग प्रति पनि प्रशंसा गरेका थिए । कोरला–लिजी नाका खोल्ने सहमति भएको भन्दै थप नयाँ नाकाहरु हिल्सा–बुराङ्ग तथा किमाथाँका–छेन्ताङ्ग खोल्न सके दुबै मुलुकलाई फाईदमा पुग्ने उनको बिश्वास थियो ।

यसैगरी उनले नेपालमा लगानीको अबसर छ भन्दै जलबिद्युत्, सडक, कृषि, सीमापार रेलमार्ग, प्रसारण लाइन, पर्यटन, औद्योगिक पार्क, चीन–नेपाल मैत्री सांस्कृतिक पार्क, उच्च पहाडी तथा जडिबुटी प्रसोधन तथा हवाई सेगामा लगानी गर्न सकिनेमा उनले बिश्वास दिलाए । बार्षिक २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यका साथ सन् २०२० लाई भ्रमण बर्षको घोषण गरेको जानकारी गराउँदै चीन तथा तिब्बत सरकारले नेपाल भ्रमणका लागि प्रोत्साहन गराउन आग्रह पनि गरे । दुई देशबीच सहयोग अभिबृद्धि गर्न तथा अन्तरकृया बढाउन ब्यापार, पर्यटन, सीमा सुरक्षा तथा भन्सार सम्बन्धी द्विपक्षीय संयन्त्र सकृय रहेको भन्दै उनले थप समन्वय हुने र सीमा ब्यबस्थापनमा थप सहकार्य हुने मुख्यमन्त्री पौडेलको भनाई थियो । नेपालको सिमानामा चीन विरुद्ध गतिविधि हुन नदिने पनि मुख्यमन्त्री पौडेलले बिश्वास दिलाए ।

भेटवार्ताका क्रममा तिब्बत जनसरकारका अध्यक्ष छिटालाले नेपालमा कृषि, पर्यटन, जलबिद्युत, सडक निर्माण र बिस्तारका क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए । नेपालले घोषणा गरेको भ्रमण बर्ष सन् २०२० सफल बनाउन तिब्बत सरकारले पनि सहयोग गर्ने बताए । केही समय अघि चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौतालाई तिब्बत सरकारले पनि साथ दिंदै अघि बढ्ने बताए ।

Advertisement

Advertisement

Advertisement