सरकारी जागिरका लागि दरखास्त दिएका दुई लाख अन्योलमा, तयारी गरिरहेका अरु लाखौं प्रभावित

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो सर्वेक्षणअनुसार कोरोना संक्रमण सुरु भएयता निजी क्षेत्रतर्फ २२.५ प्रतिशत कर्मचारी कटौतीमा परेका छन् । यहीबेला सरकारी सेवामा पनि भर्ना प्रक्रिया अवरुद्ध बनेको छ, जसकारण सरकारी सेवा प्रवेशका लागि दरखास्त दिएका करिब दुई लाख युवा अन्योलमा छन् ।

१४ वैशाखमा मन्त्रिपरिषद्ले अर्को निर्णय नभएसम्मका लागि सबै भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको थियो । त्यसयता लोकसेवा आयोगले नियमित परीक्षाहरू पनि स्थगित गरेको छ । आयोगले आर्थिक वर्ष ०७७–७८ को वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

Advertisement

यसअघि स्थगित परीक्षाहरू पनि नयाँ तालिकामा राखिएका छन् । तर, कोरोना प्रसार बढ्दै जाँदा त्यो तालिका कार्यान्वयन हुने सम्भावना न्यून छ । त्यसको प्रत्यक्ष प्रभाव परीक्षा तयारीमा रहेको युवा जनशक्तिमा परेको छ । खासगरी, नेपाल प्रहरी र नेपाली सेनातर्फ जनशक्ति अभाव देखिन थालेको छ ।

‘सरकारबाट स्थगनका लागि आग्रह भएकाबाहेकका पदमा परीक्षा प्रक्रिया थाल्ने योजना थियो,’ आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईं भन्छिन्, ‘तर, कोरोना संक्रमण बढ्दै गएकाले सुरु गर्न सकिएको छैन ।’ दरखास्त लिइसकेका विज्ञापनमा अवस्था सामान्य भएपछि परीक्षा सञ्चालन हुने उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी पनि मन्त्रिपरिषद्बाट अर्को निर्णय नभएसम्म नयाँ भर्नाका लागि आयोगलाई पत्राचार नगरिने बताउँछन् । भन्छन्, ‘कर्मचारी अभावको ठूलो समस्या पनि छैन ।’ जनशक्ति अभाव नरहेको उनको भनाइ निजामती सेवातिर लक्षित छ ।

लोक सेवाका परीक्षा रोकिँदा तत्काल ठूलो समस्या नपरे पनि केही कर्मचारीको करिअरमा असर पर्न सक्ने पूर्वसचिव पूर्णचन्द्र भट्टराई बताउँछन् । समयमा भर्ना नहुँदा बढुवामा पनि असर पर्ने उनको भनाइ छ । ‘अहिलेको यो बाध्यात्मक अवस्था हो, यसको विकल्प पनि छैन,’ उनी भन्छन्, ‘संघमा धेरै दरबन्दी छ, प्रदेश र स्थानीय तहमा कर्मचारी पर्याप्त नभएकाले त्यता केही असर पर्न सक्छ ।’

हजारौँ दरखास्त अलपत्र

निजामतीतर्फ ३३ हजार कर्मचारी विभिन्न तहको परीक्षामा सहभागी थिए । यस्तै, सुरक्षा निकाय र सार्वजनिक संस्थानतर्फ ५९ हजार आठ सय ३७ जना लिखित परीक्षाको तयारीमा थिए । त्यसबाहेक सेनाको ६ हजार ६७ र नेपाल प्रहरीको चार हजार ६६ पदमा कतिजना लिखित परीक्षामा सहभागी हुँदै छन् भन्ने विवरण आयोगमा पुगिसकेको थिएन ।

विद्युत् प्राधिकरण र आयल निगमका रिक्त पदमा पनि हजारौँ आवेदन परेका थिए । सबैगरी दरखास्त दिइसकेका दुई लाखजना प्रभावित भएको आयोगका अधिकारीहरूको आकलन छ । यस वर्ष नियमित भर्ना प्रक्रियासमेत रोकिँदा सरकारी सेवाका आकांक्षी निराश बनेका छन् ।

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement