निषेधाज्ञामा देशकै पूरानो बिस्कुट उद्योग सञ्चालन गर्न अडचन, आयातलाई भने प्रोत्साहन

Advertisement

काठमाडौं । स्वदेशी उद्योगहरूप्रतिको राज्यको विभेदपूर्ण नीतिका कारण देशकै पूरानो लोकप्रिय बिस्कुट उद्योग प्रभावित हुन पुगेको छ । निषेधाज्ञामा समेत विभिन्न थरी बिस्कुटहरू आयात गर्न दिएको सरकारले असहयोग गर्दा स्वदेशको नेबिको बिस्कुट भने बन्द हुन पुगेको छ । सन् १९६४ मा स्थापना भएको यो उद्योगमा तीन सय कर्मचारी तथा कामदार कार्यरत रहँदै आएकोमा निषेधाज्ञा जारी गरिएपछि बन्द रहेको छ ।

निषेधाज्ञामा कर्मचारीहरूलाई हिँडडुल गर्न रोक लगाउँदा नेबिको बिस्कुट बन्द हुन पुगेको हो । यसबाट उद्योगका तीनसय कर्मचारी तथा कामदारहरू घरमै बस्न बाध्य भएका छन् भने उद्योगले मासिक १० करोड रुपियाँ नोक्सानी भोग्नुपरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड सञ्चालन गरेर स्वदेशी उद्योगहरू सञ्चालन गर्न सकिने संभावना हुँदाहुँदै सरकारले कर्मचारीहरू कारखानासम्म आउन नदिएपछि उद्योग बन्द गर्न बाध्य भएको हो । 

Advertisement

‘हामीले के सहयोग गर्नुपर्छ ? भन्नुस् । उद्योग चलाउनुस् भन्नुपर्ने सरकारबाट उल्टै असहयोग मात्रै भइरहेको छ । यसबाट उद्योगलाई करोडौं रुपियाँ नोक्सानी भइरहेको छ । यस्तो अवस्थामा कर्मचारीहरूलाई कसरी तलब दिने ? भन्ने चिन्ता छ’, नेबिको बिस्कुटका एक अधिकारीले गुनासो गरे । 

उनले थपे, ‘जब नाकाबन्दी हुन्छ । विपत्ति आइपर्छ । तब स्वदेशी उद्योगको जिम्मेवारी छ भनिन्छ । अहिलेको विषम परिस्थितिमा म आफ्नो तरिकाले म्यानेज गरेर स्वास्थ्य मापदण्ड पालन गरेर उद्योग चलाउँछु भन्दा चासो दिइन्न् । सरकारले एउटा व्यवस्था मिलाइदिनु त कहाँ हो कहाँ ? उल्टै हामीले नै व्यवस्था मिलाएर उद्योग चलाउँछौं भन्दा पनि सहयोग नगर्दिएपछि कसरी स्वदेशी उद्योग टिक्नसक्छ ? कसरी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्छ ?’  

स्वदेशी उद्योगलाई निरुत्साहित गर्ने र आयातलाई प्रोत्साहन गर्ने सरकारको नीतिका कारण व्यापार घाटा ठूलो समस्या बन्न पुगेको छ । विप्रेषण आयले अन्तर्राष्ट्रिय व्यापारमा रहेको ठूलो घाटालाई सन्तुलन गर्न सहयोग पुगे पनि उत्पादनमूलक स्वदेशी उद्योगहरू भने दिनप्रतिदिन धरासायी हुँदै जाने अवस्था सिर्जना भएको छ । 

नेपालको बिस्कुटको बजार एक अर्ब रुपियाँको रहेको अनुमान छ । त्यसमा करिव ६० प्रतिशत बजार हिस्सा विदेशी बिस्कुटले ओगटेको छ भने बाँकी नेपाली बिस्कुटको बजार छ । कुल बिस्कुट बजारमा नेबिकोको हिस्सा १० प्रतिशत छ जुन स्वदेशी उद्योगहरूमा सबैभन्दा धेरै हो । 

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै सरकारले काठमाडौंसहित देशका अधिकांश जिल्लामा निषधाज्ञा जारी गरेपछि धेरै स्वदेशी बन्द हुन पुगेका छन् । खुलेका केही उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । 

Advertisement

Advertisement