सेयर बजार साप्ताहिक समीक्षाः ऐतिहासिक रेकर्ड बनाएको सातामै धितोपत्र बोर्डले दियो धक्का

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार बेलुका नेप्सेमा सूचीकृत ५१ कम्पनीमा लगानी गर्दा लगानी जोखिममा पर्नसक्ने भन्दै ती कम्पनीको नामसहित विज्ञप्ती जारी गर्यो । बोर्डको निर्णयले उक्त दिन कारोबार बन्द भइसकेकोले बुधबार मात्रै गहिरो असर देखियो । सेयर बजारमा भारी गिरावट देखियो । 

बोर्डको निर्णयको कारण सेयर बजारमा ‘प्यानिक सेल’ देखियो । यसले गर्दा विशेषगरी साना र नयाँ लगानीकर्ताको मनोबल खस्किएको सेयर बजारका विश्लेषकहरूले बताउँदै आएका छन् । केहीले भने बोर्डको निर्णय सकारात्मक रहेको भन्दै यसले बजारलाई सबल बनाउन सहयोग गर्ने तर्क गरिरहेका छन् । 

Advertisement

बुधबार बोर्डको निर्देशनको कारण ५१ कम्पनीमध्ये तीन कम्पनीको सेयर सामान्य बढ्यो भने बाँकीमा भारी गिरावट आयो । बुधबार नेप्से परिसूचक ५२ अंकभन्दा धेरैले घट्यो भने कारोबार रकम पनि अघिल्ला तीन दिनको तुलनामा निकै घट्यो । १३ समूहमध्ये १२ वटामा भारी गिरावट आएको थियो । लघुवित्त समूहको सेयर मूल्य भने सामान्य बढ्यो । 

निरन्तर उकालो लागको सेयर बजारमा बोर्डको निर्देशनले एकाएक ब्रेक लगाए पनि बिहीबार भने त्यसमा केही सुधार आयो । नेप्से परिसूचक १.२९ अंकले मात्रै घट्यो भने कारोबारमा आएका १८० कम्पनीमध्ये ८३ को सेयर मूल्य बढ्यो । ९७ भने घट्यो । बोर्डले जोखिमयुक्त भनेर १ नम्बरमा रोखको खानिखोला हाईड्रो पावर कम्पनीको सेयर मूल्य बिहीबार सबैभन्दा धेरै अनुपातमा बढ्यो । 

बोर्डको कदमको चौतर्फी विरोध
नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान), लगानीकर्ताका संघसंगठनले सुचीकृत ५१ कम्पनीलाई जोखिमयुक्त भनेर नाम सार्वजनिक गर्ने बोर्डको निर्णयको कडा शब्दमा आलोचना गरेका छन् । सीएनआईका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटर नियमनकारी निकायबाट परिपक्व भूमिका निर्वाह हुन नसकेको गुनासो गरेको थियो । 

यस्तै, सेयर लगानीकर्ताहरूको संगठन नेपाल इन्भेष्टर्स फोरमले पनि धितोपत्र बोर्डले गरेको निर्णय खुल्ला बजार अर्थतन्त्रको भावना र आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको भएको भन्दै यसले आमलगानीकर्ताको मनोवल गिराएको बताएको छ । साथै, बोर्डको निर्णयविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ । 

सुचीकृत ५१ कम्पनीलाई कालोसुचीमा राख्ने बोर्डको निर्णय फिर्ता गर्न माग गर्दै दर्ता भएको रिटलाई सर्वोच्चले अग्राधिकार दिँदै आइतबार नै पेशी तोकेको छ । उक्त निर्णय बोर्डको काम कर्तव्य र अधिकारभन्दा बाहिरको रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको रिट निवेदनमा उल्लेख गरिएको छ । निवेदनमा सेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि बोर्डलाई परमादेश दिनको लागि पनि आग्रह गरिएको छ । 

यता बोर्डमा भने यो बिषयमा कुनै छलफल नभएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिएका छन् । 

साप्ताहिक अवस्था 
साताको पहिलो कारोबार दिन आईतबार नेप्सेमा ऐतिहासिकरुपमा पहिलो पटक १९ अर्ब ५५ करोड रुपियाँभन्दा धेरैको कारोबार भयो । यस दिन सेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले बढेर २९८३.१० बिन्दुमा पुग्यो । सोमबार पनि नेप्से परिसूचकमा ऐतिहासिक रेकर्ड कायम गर्दै ३०२५.८२ अंकमा पुग्यो । यस दिन सूचक ४२.७२ अंकले बढेको थियो । सोमबार कारोबार १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपियाँभन्दा धेरैको कारोबार भएको देखिन्छ । 

साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सामान्य करेक्सन आयो । नेप्सेका अनुसार मंगलबार सेयर बजार ३.७२ अंकले ३०२२.१० अंकमा झरेको थियो । यस दिन सेयर कारोबार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार रुपियाँमा सीमित भयो भने  बुधबार बजारमा बोर्डको निर्णयको गहिरो असर पर्यो । यो दिन नेप्से ५२.३९ अंकले गिरावट भई २९६९.७२ अंकमा झर्यो भने कारोबार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपियाँमा सीमित भयो । 

साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा गिरावट कायमै रह्यो । नेप्से १.२९ अंकले घटेर २९६८.४३ बिन्दुमा झरे पनि बोर्डले जोखिमयुक्त भनेका धेरै कम्पनीको सेयर मूल्यमा सुधार आयो । तर कारोबार भने घटेर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार रुपियाँमा सीमित भयो । 

कुन समूह कति घटबढ ? 
यो साता सबै भन्दा धेरै ट्रेडिङ समूहको सेयर मूल्यमा गिरावट आएको छ । यो समूहको सुचक ४.३३ प्रतिशतले घटेको छ । दोस्रोमा जीवन बीमा समूह रहेको छ । यस समूहको सुचक २.४५ प्रतिशतले घटेको छ । जलविद्युत समूहको सुचक २.०४ प्रतिशतले घटेको छ भने वित्त समूहको सुचक १.१० प्रतिशत, निर्जीवन बीमा समूहको सुचक ०.४० प्रतिशत र लघुवित्त समूहको सुचक ०.१३ प्रतिशत गरेर छ वटा समूहको सुचक ओरालो लागेको छ ।

सबैभन्दा धेरै कमाउने पाँच कम्पनी
यो साता सेयर बजारमा धेरै कमाउने पाँच कम्पनीमा दुई जलविद्युत र तीन होलट छन् । जसमध्ये युनियन हाईड्रो पावर कम्पनीको सेयर ४०.३३ प्रतिशतले बढेको छ भने सिईडीबी हाइड्रोपावर कम्पनीको सेयर ३६.४५ प्रतिशतले बढेको छ । यस्तै ओरिन्टीयल होटलको सेयर २१.२८ प्रतिशतले सेयर मूल्य बढेको छ भने सोल्टी होटलको १८.६० प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य १४.९४ प्रतिशतले बढेको छ ।  

सबैभन्दा धेरै गुमाउने पाँच कम्पनी 
यस साता सबैभन्दा धेरे गुमाउने पाँच कम्पनीमा चार जलविद्युत र एक विकास बैंक छन् । जसमध्ये युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीको सेयर १२.७४ प्रतिशतले, माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ९.५६ प्रतिशतले, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयर क्रमशः ८.३७ प्रतिशत र ८ प्रतिशत घटेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ड बैंकको सेयर मूल्य ८.३१ प्रतिशतले ओरोलो लागेको छ ।

Advertisement

Advertisement