विज्ञापन आचारसंहिताको मस्यौदा तयार, सरकारी विज्ञापनमा हुने अर्बौंको अनियमितता रोकिने

Advertisement

काठमाडौं । विज्ञापन बोर्डले विज्ञापनको आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । विज्ञापन दिवसको अवसरमा बोर्डले मंगलबार गरेको कार्यक्रममा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसलाई सार्वजनिक गरेका हुन् । 

विज्ञापन क्षेत्रका विकृति हटाएर यसलाई व्यवस्थित र पारदर्शी बनाउन तयार गरिएको मस्यौदा सरोकारवालाहरुबीच छलफल गरी अर्को महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । 

Advertisement

विशेषगरी सरकारी विज्ञापनमा अर्बौं रुपियाँ अनियमितता हुने, बहुर्राष्ट्रिय कम्पनीदेखि स्वदेशी व्यवसायिक कम्पनीहरुले पनि विज्ञापनमा नगन्य खर्च गर्ने, गरेको खर्च पनि पारदर्शी नहुने, बजेट कटौती गर्नुपर्दा पहिला विज्ञापनको बजेट कटौती गर्ने, होडिङबोर्डका नाममा जथाभावी विज्ञापन गर्ने जस्ता विकृति रहेकोमा त्यसलाई सुधार गर्ने योजनाका साथ बोर्डले आचारसंहिता तयार गरेको हो । 

कार्यक्रममा मन्त्री कार्कीले राजमार्गदेखि शहरी क्षेत्रमा राखिने होडिङ बोर्डले के कस्तो असर गर्छ ? अध्ययन हुनुपर्छ भन्दै विज्ञापन व्यवसायको विकास गर्न सरकार सहयोग गर्न तयार रहेको बताए । 

विज्ञापन आचार संहिताले विज्ञापनलाई मर्यादित बनाउन सहयोग गर्ने बताउँदै कार्कीले यसलाई सर्वस्वीकार्य र कार्यान्वयनयोग्य बनाउन सुझाव दिए । 

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन ऐनमा केही कमी कमजोरी रहेको स्वीकार गर्दै त्यसलाई समयानुकुल संशोधन गर्दै जानुपर्ने बताए । उनले बोर्डले पूर्णता पाएको छ महिना भएको र यस अवधिमा थुप्रै काम भएको पनि सुनाए । 

आफूहरुले विज्ञापन परीक्षणको मापदण्ड तयार पारिसकेको जानकारी दिँदै हुमागाईंले आउँदो असारसम्ममा विज्ञापनको राष्ट्रिय नीति तयार गरी सरकारलाई पेश गर्ने र अर्को बर्ष आजकै नीति यो नीति जारी गर्ने योजना रहेको पनि बताए । 

सामाजिक सञ्जालमा अनधिकृतरुपमा विज्ञापन गर्ने बढ्दो प्रवृत्तिले सञ्चार माध्यममा विज्ञापन नगर्ने प्रवृत्ति बढ्ने हो कि ? भन्ने चिन्ता बढेको भन्दै अध्यक्ष हुमागाईंले विज्ञापन एजेन्सीले हचुवाको आधारमा सञ्चार माध्यममा विज्ञापन गर्ने प्रवृत्तिलाई बोर्डले व्यवस्थित गर्ने बताए । होडिङबोर्डको बेथितिलाई व्यवस्थित गर्न बोर्डको कार्यदलले काम गरिरहेको उनले बताए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, नेपाल उद्यो बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, विज्ञापन संघका अध्यक्ष सोम धिताललगायतले बोलेका थिए । 

Advertisement

Advertisement