कृषिमा स्थानीय सरकारको अनुदानबाट बिदेशिनेहरू रोकिँदै

स्याङ्जा । फेदीखोला गाउँपालिका वडा नं ३ का अनिल पौडेल अहिले आफ्नै गाउँघरमा कृषि तथा पशुफर्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्ष कतारमा बिताउनुभएका २७ वर्षीय पौडेल स्वदेश फर्किएर दुई वर्षदेखि गाउँमै कृषिमा रमाइरहेका छन् । 

पाँच भैंसीबाट आफ्नो व्यवसाय सुरु गरेका पौडेलले यसबाहेक २५ रोपनी जमीनमा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् । अहिले पौडेलका महालक्ष्मी कृषि तथा पशुफर्म फर्ममा सानाठूला गरेर १३ भैंसी छन् । उहाँले दैनिक ४० लिटर दूध पोखरा लगेर रु एक सयदेखि १२०  लिटरमा बिक्री गर्दैआउनुभएको छ । टनेलमा गोलभेंडा, काउली, बन्दागोभी, भिन्डी, सागलगायत तरकारी लगाउँदै आउनुभएका पौडेलले भने, “गाउँघरको आफ्नै जमिन सदुपयोग गरेर वार्षिक चार लाखसम्म आम्दानी गर्न पाएकामा खुसी लागेको छ ।” 

देशमा रोजगारीको अवसर नभएको भनी दिनहुँजसो हजारभन्दा बढी युवा बिदेशिरहेका बेला यहाँका केही युवा भने यसरी आफ्नै गाउँठाउँमा स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् । आफ्नै लगानीमा केही गर्नेभन्दा पनि अर्कैको काम गरेर आयआर्जन गर्ने भावना विपरीत यहाँका तन्नेरीहरू आफ्नै पसिनामा आफ्नो भविष्य खोज्दै स्वरोजगार बन्ने अभियानमा छन् । स्थानीय तहले किसानलाई लक्ष्य गरेर नीति तथा कार्यक्रम ल्याएपछि त्यस्ता युवाको आकर्षण कृषि पेशामा बढेको छ ।

गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर आएका युवालाई स्वरोजगार बनाउने योजनानुसार कृषि तथा पशुपालनका लागि अनुदान दिने नीति बनाएको छ ।  गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत अनुदान दिने र २६ तरकारीमा न्यूनतम समर्थन मूल्य निधारण गरेर किसानलाई अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनले भने, “पालिकाले अधिकतम युवा तथा कृषकलाई कृषिमा व्यावसायिक रुपमा लाग्न हौसला प्रदान गर्ने योजनाअनुसार उत्पादनका आधारमा अनुदान दिने नीति लिएको छ ।”

पालिकाले गाउँठाउँमा रहेको बाँझो जमिनमा खेती गर्ने किसानलाई पनि अनुदान दिँदै आएको छ । सुवेदीका अनुसार बाँझो भएको आफ्नै जमिनमा खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार र जमिन भाडामा लिएर खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार पाँच सयका दरले अनुदान दिँदै आएको छ । गाउँपालिकाले अनुदान दिन थालेसँगै दुई हजार सय रोपनी बाँझो जमीनमा खेती हुन थालेको र रु १० करोड बराबरको थप खाद्यान्न उत्पादन भएको सुवेदीले बताए । उनले भने, “बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन सुरु गरिएसँंगै खाद्यान्न उत्पादनमा वृद्धि भएको छ, रोजगारी सिर्जना गर्नाका साथै खाद्यान्न उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ ।”

गाउँपालिका कृषि शाखा प्रमुख शिशिर पण्डितले ५२६ किसानले बाँझो जमीनमा खेती गर्न सुरु गरेको र रु ४० देखि ५० हजारसम्म अनुदान पाएको  जानकारी दिनुभयो । उनी भन्छन्, “एक मुरी धानसमेत उत्पादन नगर्ने किसानले अहिले बाँझो जमिनमा खेती गरेर २५-३० मुरीसम्म धान फलाएका छन्, यस अभियानले पालिकाभित्र जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्दै खेतीपातीमा लाग्न किसानलाई उत्साहित बनाएको छ ।”

संयुक्त अरव इमिरेट्समा आठ  वर्ष बिताएर नेपाल फर्कनुभएका फेदीखोला –२ का ४६ वर्षीय गङ्गाधर पौडेल फेरि विदेश जाने योजनामा भएकामा गाउँपालिकाको अनुदान नीति थाहा पाएपछि उनी आफ्नो योजना बदल्दै आफ्नै पाँच रोपनी जमिनमा तरकारी खेती गरेर वार्षिक रु तीन लाख आम्दानी गर्न सफल भएका छन् । उनले आफ्नो खेतबारीमा हरियो तरकारी साग, काउली, बन्दाका साथै गोलभेंडा र आलु खेती गर्दै आएका छन् । 

गाउँपालिकाको सहयोग पाएपछि आफू वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै तरकारी खेतीमा लागेको पौडेलले बताए । उनले भने, “अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा परिवारसंँगै बसेर वार्षिक तीनचार लाख रुपियाँ कमाउन सकिने भएपछि केलाई विदेश जानू रु मलाई यहीँ खेतीपाती गर्नुमा खुसी लागेको छ ।”

खेती गर्न चाहनेलाई गाउँपालिकाले अनुदान दिने अनि उत्पादन गरेको वस्तुसमेत घरघरमै पुगेर खरिद गर्ने गरेपछि किसानलाई काम गर्न उत्साहित बनाएको पौडेलको भनाइ थियो । गाउँपालिकाले प्लाष्टिक टनेल, हाते ट्रयाक्टर र  थोपा सिंचाइ परियोजनाका लागि पनि सहयोग गर्ने गरेको छ । गाउँपालिकाले वैदेशिक रोजगारीमा गएर कोभिड– १९ का कारण रोजगारी गुमाएका युवालाई प्रतिव्यक्ति रु दुई लाख ५० हजारका दरले सहयोग गरेको छ । यसरी सहयोग पाउने ११ युवा छन् । 

गाउँपालिकाले पालिकाभित्रका कृषकले उत्पादन गरेका वस्तु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका तरकारीलगायत वस्तु पालिकाले तिनको घरमै पुगेर हातहातमै पैसा बुझाएर बजार मूल्यअनुसार खरिद गरेर सहकारीमार्फत बिक्री गर्ने गरेको छ ।  पालिकाका पाँच वटै वडामा सङ्कलन केन्द्रको व्यवस्था छ । किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्नुपर्ने अवस्था आएमा न्यूनतम मूल्यमा अपुग रकम गाउँपालिकाले नै थपेर किसानलाई उपलब्ध गराउँछ ।

सेतो सहर गल्याङ
गल्याङ नगरपालिका –२ इलुङ्गाकी टीकाकुमारी राना दूध बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । हर्सिका गाई फर्म सञ्चालन गर्दै आउनुभएका ३० वर्षीया राना दैनिक ८० देखि १२९ लिटरसम्म दूध बिक्री गरेर महिनामा  रु एक लाख ५० हजारसम्म आम्दानी गर्छिन् । आफ्नै घरमा गाई फर्म सञ्चालन गर्दै आएकी रानाको गाई फर्ममा अहिले पाँच जर्सी गाई छन् । उनले नगरपालिकाले दिने प्रतिलिटर रु १५ का दरले वार्षिक रु तीन लाखभन्दा बढी थप अनुदान पाएकी छिन् । यसबाहेक रानाले गाई खरिदका लागि नगरपालिकाबाट रु ४० हजार अनुदान पाउनुभएको थियो ।  श्रीमान् नारायण  रोजगारीका लागि साउदी अरब गएपछि “घरमा यत्तिकै बस्नुभन्दा केही गरौँ” भनेर गाई फर्म सञ्चालन गर्नुभएका राना बिहान उठेदेखि साँझसम्म गोठमा रहेका गाईको स्याहारमा व्यस्त छिन् । दुई छोराछोरी र आमाका साथमा बस्दै आउनुभएका टीकाले आफ्नै फर्ममा एक महिलालाई रोजगारीसमेत दिएकी छिन् ।  

नगरपालिकालाई सेतो सहरका रुपमा विकास गर्ने योजनानुसार प्रतिलिटर दूधमा रु १५ का दरले अनुदान दिँदै आएको गल्याङ नगरपालिकाले जनाएको छ । पहाडी जिल्लाको नगरपालिकाका बासिन्दाको कृषि र पशुपालनका माध्यमबाट आयआर्जनको स्रोत बढाउने उद्देश्यले दूधमा अनुदान दिने नीति लिइएको नगर प्रमुख भूपराज अधिकारी बताउँछन् । अधिकारीले भने, “यहाँका किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा प्रोत्साहन गर्ने योजना अनुसार नगपालिकाले निर्णय गरेर प्रति लिटर दूधमा १५ रुपियाँ अनुदान दिँदै आएको छ । यसले किसानलाई दूध उत्पादनमा लाग्न प्रोत्साहन मिलेको छ ।”  नगरपालिकाले गाईभैंसी खरिदमा समेत अनुदान दिने गरेको छ । यहाँको पशुसेवा शाखाबाट कृषकले भनेका समयमा प्राविधिक सहयोगसमेत पाउने भएकाले नगरपालिकामा पशुपालन गर्ने कृषक बढ्दै गएका छन् । 

पहिलापहिला घरमा भएको दूधसमेत बेच्न आनाकानी गर्ने किसानले अहिले उत्साहित भएर  बिक्री गर्ने गरेको पशुसेवा शाखाका प्रमुख सुशील अर्याल बताउँछन् । जति धेरै बिक्री गर्न सक्यो, उति धेरै अनुदान पाउने भएपछि किसानले उत्साहित भएर व्यावसायिक रुपमा गाईभैंसी पालेर दूध बिक्री गर्न थालेको अर्यालको भनाइ छ ।  यसरी अनुदान मात्र आर्थिक वर्ष २०७७÷०७८ मा रु  ७८ लाख ९९ हजार ९२० वितरण गरिएको अर्यालले जानकारी दिए । चालु आवमा किसानले पाँच लाख २६ हजार ६६१ लिटर दूध बिक्री गरेका छन् ।  दूध बिक्री गर्ने किसान बढ्दै जान थालेपछि नगरपालिकाले सञ्चालन गरेको दूधमा अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएकोे छ । दूध बेचेर मात्रै महिनामा रु ९० हजारसम्म अनुदान प्राप्त गर्ने किसानसमेत छन् ।

गल्याङ –११ का अगुवा कृषक रुमलाल कंँडेलले लामो समयदेखि कृषिलाई नै आफ्नो मुख्य पेशा बनाउँदै आएका छन् । विसं २०६६ देखि कृषि पेशामा लागेका उनले यही पेशाबाट वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले आफ्नै घर जिम्मुवामा ६५ रोपनी जग्गामा व्यवसाय सञ्चालन गरेका छन् । भगवती भैंसीपालन तथा कृषि बीउ उत्पादन फर्ममार्फत दैनिक ६० लिटर दूध बिक्री गर्दै कंँडेलले राम्रो आम्दानी गर्नुभएको हो । उनको फर्ममा अहिले १४ गाईभैंसी छन् । उनले आफ्नै फर्मबाट नश्ल सुधार गरेर गाईका बाच्छाबाच्छीसमेत उत्पादन गर्दै आएका छन् ।  

उनले भने, “काम गर्न चाहने किसानलाई नगरपालिकाले सहयोग गरेको छ, यस सहयोगले हामीलाई काम गर्न थप हौसला मिलेको छ ।” हुन पनि नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटरमा दिने अनुदानले गाईभैंसी पालेर दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन मिलेको देखिन्छ । यसले कृषि पेशामा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको कंँडेल बताउँछन् ।  

उनले करिब ४५ रोपनी जमिनमा आलु, धान र मकैको बीउ उत्पादन गर्दै आएका छन् । यसबाहेक उहाँले १५ रोपनी जमिनमा गाईवस्तुका लागि आवश्यक घाँस खेतीसमेत गरेका छन् । कँडेलले जनक देव, एमएस ४२ जातको आलुको बीउ, अनि अरुण –२ मकै तथा राम धान र सावित्री धानको बीउसमेत उत्पादन गरेका छन् ।  

आफ्नै उत्पादन गण्डकी प्रदेशका स्याङ्जा, कास्की, तनहुँ, लमजुङ र गोरखाका साथै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा बिक्री गर्दै आउनुभएका उहाँले यस वर्ष २५ टन आलु बिक्री गरे । उनी अब एक टन मकै र सात टन धानको बीउ बिक्री गर्ने तयारीमा छन् । नगरपालिकाले ऋण लिएर कृषि पेशा गर्नेहरूका लागि कृषि ऋणमा चार प्रतिशत अनुदान दिँदै आएको छ । 

आव २०७७÷७८ मा नगरपालिकाले कृषि ऋणमा व्याज अनुदानअन्तर्गत रु १५ लाख वितरण गरेको छ । यसबाट २८१ कृषक लाभान्वित भएको नगरपालिकाले जनाएको छ । रासस