द्रुतमार्गको बीमा राष्ट्रिय बीमा कम्पनीले पाउने, एकै पटक झण्डै दुई  अर्बको विजनेश प्राप्त हुने

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले द्रुतमार्ग (फास्ट ट्रयाक)को बीमा पाउने करिव निश्चित भएको छ । उक्त आयोजनाको बीमा हात पार्न निजी क्षेत्रका बीमा कम्पनीहरुले पनि प्रयास गरेका थिए । तर अन्ततः सरकारी स्वामित्वकै राष्ट्रिय कम्पनीमा उक्त आयोजनाको बीमा गराउने तयारी गरिएको हो ।  

द्रुतमार्गको बीमा गर्दा कम्पनीलाई एकै पटक झण्डै दुई अर्बको विजनेश प्राप्त हुनेछ । यसले एकातिर कम्पनीको शेयर मूल्यमा उत्साहजनक वृद्धिमा सहयोग पुग्नेछ भने आयोजनामा हुनेसक्ने संभावित जोखिम बहन गर्नुपर्ने दायित्व पनि आइपर्नेछ । 

Advertisement

आयोजनाको बीमाका लगि कम्पनीले आवश्यक तयारी गरी स्वीकृतिका लागि बीमा समितिमा पठाईसकेको छ । समितिले पनि उक्त बीमालाई स्वीकृत गर्ने संकेत दिइसकेको छ । यद्यपि समितिका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले यस विषयमा छलफल बाँकी रहेकोले निर्णय गर्न केही दिन लाग्ने बताए । 

उनले कर्पोरेट नेपालसँग भने, ‘फास्ट ट्रयाकको बीमाको अन्योलता करिव हटेको छ । । तर, यो ठूलो रकमको बीमा भएकाले केही छलफल गर्न आवश्यक देखिएको छ । नेपाली सेनाले निर्माण गरेको आयोजनामा सरकारी कम्पनी भएको नाताले राष्ट्रिय बीमा कम्पनीले आवेदन दिएको हो । आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीहरुले व्यवसाय लिँदा त्यसमा हामीलाई आपत्ति छैन ।’ 

यता कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझा भने यस विषयमा त्यति खुल्न चाहेनन् । उनले भने, ‘हामी प्रक्रियाबाटै अघि बढिरहेका छौं । विगतमा पनि सरकारी संरचनाको बीमा सरकारी कम्पनीमा हुँदै आएको हो । त्यसैले यो बीमा हामीले पाउने सम्भावना पनि धेरै छ ।’ 

यो बीमा स्वीकृत भएसँगै अहिलेसम्मकै ठूलो बीमा हुनेछ । ठूलो व्यवसाय प्राप्त हुने भएकाले निजी कम्पनीहरु पनि यसका लागि दौडधुपमा थिए । तर उनीहरुको प्रयास फलदायी हुन सकेन् । निजी कम्पनीलाई दिँदा अनावश्यक विवाद हुनसक्ने डरले पनि सेनाले सरकारी स्वामित्वकै कम्पनी रोजेको हुनसक्ने देखिएको छ । के कति रकमको बीमा हुने ? भन्ने कुरा आयोजना निर्माणमा संलग्न चिनियाँ कम्पनी, नेपाली सेना र राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधिको छलफलबाट तय हुनेछ । प्रारम्भिक अनुमानअनुसार यो बीमा झण्डै दुई अर्बको हुनेछ । 

व्यवसाय खोसाखोसको होडमा बीमा कम्पनी
बीमा कम्पनीहरु एक अर्काको व्यवसाय खोस्ने होडमा लागेका छन् । धेरै व्यवसाय आर्जन गरेर अब्बल ठहरिएका कम्पनीहरुका व्यवसाय पनि अहिले छरिन थालेको छ । पछिल्लो समय बीमा कम्पनीहरुको संख्या बढेसँगै बीमा कम्पनीहरुको व्यवसाय पनि तानातान हुन थालेको हो । यो तथ्यलाई स्वयम कम्पनीका सीईओहरु पनि स्वीकार गर्छन् । 

द्रुतमार्गको बीमा पाउन राष्ट्रिय बीमा कम्पनी करिव सफल भए पनि सरकारी क्षेत्रका धेरै व्यवसाय भने उसले गुमाउन बाध्य भएको छ । यो श्रृखला द्रुतमार्गमा नहोस भन्ने उसको चाहना र प्रयास थियो । प्रिमियर इन्स्योरेन्स, सानिमा जनरल र नेको इन्स्योरेन्सले द्रुतमार्गको बीमा हात पार्न निकै प्रयास गरे पनि अन्ततः राष्ट्रिय बीमा कम्पनीलाई नै त्यो प्राप्त हुन लागेको हो । 

Advertisement

Advertisement