लकडाउन, नदी दोहन गर्ने अनुकुल समय, प्रशासन मौन

Advertisement

काभ्रे । लकडाउनका वेला सडकमा पैदल हिँडेका यात्रुलाई प्रहरीले लाठी प्रहार गरेको दृश्य देखिए, तर यही वेला संगठित रूपमा मान्छे जम्मा गरेर रात–दिन नदी दोहन गर्दा पनि प्रशासन मौन । सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीबाट बनेपा हुँदै हरेक रात राजधानी भित्रन्छन् १५ सय टिपर ।

लकडाउनले दुनियाँभरका नदी कञ्चन भएका छन्, तर काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमा छुट्याउने इन्द्रावती नदीमा भने भेल बगिरहेको छ । लकडाउनको मौकामा स्थानीय जनप्रतिनिधिले डोजर चलाएर नदी दोहन गरिरहेका छन् ।

लकडाउनको वेला सडकमा पैदल हिँड्ने सर्वसाधारणलाई प्रहरीले लाठीले कुटपिट गरेका दृश्य देखिए । तर, लकडाउनको अवहेलना गर्दै गाडी चलाउँदा, मान्छे जम्मा गरेर संक्रमणको जोखिम बढाउँदा र नदी दोहन गर्दा प्रशासन मौन बस्यो । स्थानीयले आवाज उठाउँदा क्रसर उद्योगीहरूले गुण्डा लगाएर जनतामाथि आक्रमण गरेको दोलालघाटका बासिन्दा बताउँछन् ।

गत माघमा सञ्चारमाध्यममा समाचार आएपछि प्रशासनले काभ्रेका सबै क्रसर तथा बालुवाखानीको अनुगमन गरेको थियो । अनुगमनमा ३१ वटै उद्योगले वातावरणीय मापदण्ड नमानेको भेटिएपछि बन्द गर्न सिफारिस भएको थियो । तर, अहिलेसम्म उत्खनन रोकिएको छैन । बर्खा महिनामा उत्खनन गर्दा बाढीको जोखिम बढाउने भएकाले यो समयमा खानी बन्द गर्नुपर्ने हुन्छ । तर, आफ्नै निर्देशन कार्यान्वयन नभएकोमा प्रशासनलाई समेत वास्ता छैन ।

काभ्रेको भुम्लु गाउँपालिका– ९ मा रहेको त्रिवेणी क्रसर उद्योगका सञ्चालकले परिचालन गरेको समूह र स्थानीयबीच १ जेठमा झडप हुँदा दुईजना घाइते नै भए । तर, अनौठो विषय के छ भने जनतामाथि आक्रमण गराउने यो क्रसरमा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका सदस्य प्रेम लामा र सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको लगानी रहेको स्थानीय बासिन्दा बताउँछन् । लामा वडा नं. ९ बाटै निर्वाचित वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिमा पुगेका हुन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement