व्यवसायीहरु आज नेता छान्दै, चुनाव किशोर र चन्द्रबीच, प्रतिस्पर्धा चण्डी र पशुपति–शेखरबीच

Advertisement

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको ५४औं बार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुँदैछ । 

कोरोना भाइरस (कोभिड १९)को जोखिमका बीच आज हुन लागेको चुनावका लागि तीन वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरको मतदान प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसियटतर्फको मतदान कार्की ब्याङकट बबरमलमा र वस्तुगतको मतदान महासंघको कार्यालय टेकुमा हुने छ । कोभिड संक्रमित मतदाताको लागि छुट्टै बुथ बनाएको जनाइएको छ । 

Advertisement

बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने र मतदान सकिएपछि मतगणना हुने छ । महासंघकी वर्तमान अध्यक्ष भवानी राणाले निर्वाचित नयाँ कार्यसमितिलाई आइतबार पद हस्तान्तरण गर्नेछिन् ।

पटक पटक स्थगित भएर सम्पन्न हुन लागेको महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको प्रावधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्षको पदबहाली गर्ने अन्तिम तयारीमा छन् । 

किशोरको समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षका लागि दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, एशोसियट्स उपाध्यक्षका लागि सौरभ ज्योतिले उम्मेदवारी दिएका छन् भने चन्द्रको समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत समूहको उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसियट समूहको उपाध्यक्षका लागि रामचन्द्र संघईे उम्मेदवारी दिएका छन् । 

चुनाव किशोर र चन्द्रबीच, प्रतिस्पर्धा चण्डी र पशुपति–शेखरबीच
व्यवसायीहरुको यस पटकको चुनाव विगतका भन्दा पनि बढि प्रतिपर्धी देखिएको छ । किशोरको समूहलाई पूर्वअध्यक्ष पशुपति मुरारका, हुनेवाला अध्यक्ष शेखर गोल्छासहित वर्तमान र अधिकांश पूर्वअध्यक्षहरुको साथ देखिन्छ भने चन्द्र ढकालको समूहलाई पूर्वअध्यक्ष चण्डी ढकाल र पूर्ववरिष्ठ उपाध्यक्ष भास्कर राजकर्णिकारको समर्थन देखिन्छ । 
 
वरिष्ठ उपाध्यक्षका लागि किशोर र चन्द्रको समूहबीच प्रतिस्पर्धा देखिए पनि बास्तविक प्रतिस्पर्धा पूर्वअध्यक्ष चण्डी ढकाल र निवर्तमान अध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छाबीच भइरहेको अनुभूति हुन्छ । महासंघको राजनीतिमा विगतमा देखिएका द्धन्द्ध र असन्तुष्टको गहिरो प्रभाव देखिएको छ । 

त्यसैको असरबाट दुई समूहको चुनावी समिकरण बनेको छ । महासंघको राजनीतिमा लामो समयदेखि प्रभाव राख्दै आएका पूर्वअध्यक्ष चण्डीको प्रभावबाट कसरी मुक्त गर्ने ? भनेर पशुपति र शेखरसहितका थुप्रै व्यवसायी सक्रिय देखिएका छन् भने महासंघमा अझै पनि चण्डी कै प्रभाव रहेकाले उनी नै निर्णायक हुने विश्वास चन्द्र ढकाल समूहको देखिएको छ । 

चण्डीको विवादास्पद विगत र केही विवादित अभिव्यक्तिका कारण पशुपति र शेखरले आफूहरुलाई असुरक्षित महशुस गरेका छन् । चण्डीले महासंघ र व्यवसायीको हितभन्दा पनि व्यक्तिगत फाइदा र सुरक्षाका लागि महासंघलाई प्रयोग गर्दै आएको उनीहरुले अनौपचारिक कुराकानीमा गुनासो गर्दै आएका छन् । 

यता चन्द्र ढकालले किशोर प्रधान, शेखर गोल्छाबीचको गठवन्धन अस्वाभाविक भन्दै आलोचना गर्दै आएका छन् । व्यवसायिक र कुटनीतिक हिसावमा सफल हुँदै आएका चन्द्र ढकाल चुनाव जित्न मन खोलेर जति पनि खर्च गर्न सामथ्र्य राख्ने व्यक्ति हुन । चुनावी एजेण्डामा भने किशोर र चन्द्र समूहमा खासै भिन्नता देखिन्न । महासंघको कुनै पनि चुनावी समूहलाई दलहरुको प्रत्यक्ष समर्थन नदेखिए पनि नेता विशेषले उम्मेदवारहरुलाई व्यक्तिगत समर्थन जनाएको देखिन्छ । दुवै समूहबीच आज कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

Advertisement

Advertisement