सेयर बजारमा चलखेल बढ्यो, ठूला लगानीकर्ताको कब्जामा बजार

Advertisement

काठमाडौं । सेयर बजारमा पछिल्ला दिनमा ब्यापक उत्तारचढाव आएको छ । यस साताको पहिलो दिन आइतबार भारी गिरावट देखिएको बजार परिसुचक नेप्सेमा आज सोमबार भारी वृद्धि भएको छ । बजारमा यति ठूलो उतार चढाव आउनुपर्ने मुलुकमा कुनै घटना र नीतिगत परिवर्तन भएको छैन् । 

आइतबार कारोबार सुरु भएको २ घण्टा नपुग्दै नेप्से पाँच प्रतिशतभन्दा धेरैले घटेर नकारात्मक सर्किट लाग्यो र ४० मिनेटको लागि बन्द भयो । यसपछि खुलेको बजारमा पनि अस्थिर हुँदै नेप्से सूचक १०८ अंकभन्दा धेरैले घट्यो । यसको दोस्रो दिन आज ठिक विपरित परिदृश्य देखियो । नेप्से सूचक १६१.९४ प्रतिशतले बढेको छ । एकै दिन धेरै अंकले नेप्से घटबढ हुनु असामान्य र अस्वाभाविकरुपमा लिइएको छ । 

Advertisement

कसरी हुन्छ चलखेल ?
सेयर धितो कर्जामा राष्ट्र बैंकले केही कडाई गरेसँगै सेयर बजारमा उच्च गिरावट आउन थालेपछि आम लगानीकर्ताहरू झस्किएका छन् । तर असार साउनमै नाफा बुक गरेर बसिसकेका धेरै ठूला लगानीकर्ता भने कुनै न कुनै बहानामा बजार घटाउन सकिए पुनः सस्तोमा उठाउन सकिने र नेप्से फेरि विन्दुमा पुर्याएर फाइदा लिन सकिने दाउमा देखिन्छन् । 

सेयर बजारमा कृतिम उतारचढाव ल्याउनमा ठूलठूला संगठित समूहहरू नै सक्रिय रहने गरेको स्वयम ठूला लगानीकर्ताहरूले अनौपचारिक कुराकानीमा स्वीकार गर्ने गर्छन् । सेयर बजारमा हुने सर्कुलर टे्रडिङ, इन्साइडर ट्रेडिङलाई स्वयम नियामक संस्थाका कतिपय उच्चअधिकारीदेखि स्टक ब्रोकरहरूले समेत साथ दिने गरेको देखिन्छ । त्यसको एउटा उदाहरण सर्वोत्तम सिमेन्टको सेयरमा भएको अनियमितताले पनि देखाउँछ । 

सेयर बजारभित्र व्यापक विकृति र अनियमितता हुन्छ भन्ने जानकारी आम लगानीकर्तालाई जानकारी हुँदैन् । तर पनि आफूले कमाई गरेको पैसा सेयर बजारमा लगानी गर्दा केही फाइदा हुने आशामा लाखौ मानिस यस क्षेत्रमा आकर्षित हुँदै गएका छन् । कारोबारको आकार बढ्दै गएर दैनिक अर्बौं रुपियाँमा कारोबार हुने गरेबाट विगतमा जस्तो चलखेल गर्नेहरू शैली अहिले छैन् । प्रविधिले गर्दा उनीहरू नयाँ विधिबाट बजारमा खेल्न र प्रभावित पार्न सिपालु भएका छन् । 

सेयर बजार लाखौं मानिसको खर्बौं रुपियाँ लगानी भएको क्षेत्र भएकोले उनीहरूको लगानीको संरक्षण गर्नु राज्यको दायित्व पनि हो । विशेषगरी नयाँ र साना लगानीकर्ताको हित संरक्षण प्राथमिकतामा पर्नुपर्ने भए पनि ठूला लगानीकर्ताको प्रभाव र चलखेलका कारण साना लगानीकर्ता सधैं जोखिममा हुन्छन् । यस्तो चलखेल बुझ्नसक्ने र पीडित भइसकेका लगानीकर्ता केही सचेत हुने गरेको देखिए पनि बहुसंख्यकले बजारको प्रवृत्ति र कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर खासै लगानी गर्न सक्दैनन् । जसको शिकार उनीहरू हुनुपर्ने र टाठाबाठाले रातारात करोडौं रुपियाँ कमाई गर्न सफल हुन्छन् । 

पछिल्लो समयमा सेयर बजारमा आएको उतार चढावको जिम्मेवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बनाइएको छ । सोही बहानामा रामकृष्ण ढकालको संयोजकत्व पूँजी बजार सुधार संघर्ष समिति बनाएर गभर्नर अधिकारीको राजीनामा माग्न थालिएको छ । राष्ट्र बैंकले केही दिन अगाडि जारी गरेको मौद्रिक नीतिको एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गर्दै १२ करोड पनि तीन वटा बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने व्यवस्था गरेपछि ठूला लगानीकर्ता रुष्ट भएका हुन् । उक्त व्यवस्था खारेज गर्न भन्दै लगानीकर्ताका संगठन र नेताहरूले अर्थमन्त्रालयसम्म पुगेर दबाब दिइरहेका छैन् ।

राष्ट्र बैंक उक्त नीति परिमार्जन गर्ने पक्षमा देखिन्न । राष्ट्र बैंकका एक डेपुटी गभर्नरका अनुसार राष्ट्र बैंकले धेरै अध्ययन र अहिले वित्तीय अवस्थालाई ध्यानमा राखेर सेयर धितो कर्जाको सीमा कायम गरेकाले कसैको दबाबमा पनि यो संशोधन हुने अवस्था छैन् । लगानीकर्ताको दबाबमा परेर नीति फेर्ने कुराले आफूमाथि नै नैतिक प्रश्न उठ्ने भएकाले गभर्नरले त्यसका लागि तयार हुने संभावना आफूले नदेखेको उनी बताउँछन् । 

Advertisement