दुर्गमका जनतामा पनि यसरी बढ्दै छ सेयर बजारमा आकर्षण (फोटो फिचर)

Advertisement

काठमाडौं । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रका जनतामा पनि सेयरमा लगानी गर्न आकर्षण बढेको तथ्य तस्वीरबाट सहजै झल्किन्छ । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । यसमा ग्रामीण क्षेत्रका विपन्न जनताको संख्या पनि जोडिदै गएको छ । 

अहिले चिया पसलदेखि जमघटसम्म कि त राजनीतिका कुरा चल्छ कि सेयर बजारको । यो आकर्षण ग्रामीण क्षेत्रमा पनि बढ्दै गएको यी तस्वीरबाट अनुमान गर्न सकिन्छ । सके दोस्रो बजारमै कारोबार गर्ने नभए आईपीओ गर्नकै लागि पनि मानिसहरू बैंकमा गएका बैंक खाता र डिम्याट खाता खोल्ने क्रम बढ्दो छ । 

Advertisement

सेयर कारोबारमा अनलाइन प्रणालीको सुरुवात भएसँगै र ग्रामीण क्षेत्रमा समेत इन्टरनेट र स्मार्ट फोनको पहुँच विस्तार भएसँगै सेयर बजारमा प्रवेश गर्नेहरूको संख्या गुणात्मकरुपमा वृद्धि भएको छ । जलविद्युत आयोजनासहितका नयाँ नयाँ कम्पनीले स्थानीय जनतालाई भनेर सेयर छुट्टाउने र प्राथमिक सेयरमा लगानी गर्दा कतिपयमा सेयर मूल्य बढेर अनुमानभन्दा धेरै नाफा हुने गरेबाट मानिसहरूमा सेयरप्रति आकर्षण तीब्र बन्दै गएको छ । सँगसँगै दोस्रो बजारमा कारोबार गर्न लालयीत हुनेहरू भने बजारमा हुने चलखेल र यस क्षेत्रको राम्रो ज्ञानको अभावले भने कहिलेकाहीं ठूलो नोक्सानी भोग्ने अवस्थासम्म पुग्ने गरेका छन् ।

उनीहरूलाई सेयर बजारमा हुनसक्ने जोखिम र कम्पनीहरूको वित्तीय अवस्था कसरी बुझ्ने भन्ने कुरामा ठूलो ज्ञान र सचेतना जरुरी रहेको यस क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । अहिले सेयर बजार उच्च रेकर्ड कायम गर्दै पुनः ओरालो लाग्ने क्रममा छ । जान्ने बुझ्ने लगानीकर्ता किन बजार बढ्दैछ ? कति बढ्दैछ ? घटबढ हुँदा कतिसमम होला ? बढ्नका लागि कुन कुन पक्षले काम गरेको हुन्छ ? भन्ने कुराको विश्लेषण गर्न सक्छन् ।

उनीहरू सुचीकृत कम्पनीहरूले हरेक त्रैमासमा सार्वजनिक गर्ने वित्तीय विवरण, राष्ट्रिय अन्तर्राष्ट्रिय अर्थतन्त्र र वित्तीय अवस्था, सेयर बजारमा ठूला खेलाडीहरूले गर्ने चलखेल जस्ता कुराहरू अध्ययन गरेर लगानी गर्ने भएकाले उसले खासै गुमाउनुपर्ने अवस्था आउँदैन् । तर नयाँ र साना लगानीकर्ता सधैं जोखिममा हुने गर्छ । पुँजी बजार नियामन गर्ने संस्थाका पदाधिकारी नै त्यस्ता लगानीकर्ताको अधिकार रक्षाभन्दा आफ्नो व्यक्तिगत लाभमा बढि केन्द्रीय हुने गरेका कारण नेपाल लाखौं साना लगानीकर्ताको अर्बौं रुपियाँ लगानी कसरी संरक्षण गर्ने भन्ने चुनौति रहँदै आएको छ । 

डिम्याट खाता खोल्न एक दिन हिंडेर बैंक

यस समाचारमा संलग्न तस्वीरका जनता डिम्याट खाता खोल्न एक दिन हिंडेर सदरमुकाम पुगेका हुन् । सोलुखुम्बुको महाकुलुङ स्थित एभरेष्ट बैंकको शाखामा डिम्याट खाता खोल्न जिल्लाका विभिन्न स्थानमाबाट हिंडेरै धेरै कष्टका साथ मानिसहरु आउने क्रम बढेको शाखाका एक कर्मचारीले बताए । 

उनी भन्छन्, ‘घरको एक दिनको काम माया मारेरै मानिसहरू डिम्याट खाता खोल्नुपर्यो । बैंक खाता खोल्नुपर्यो भनेर आउने क्रम बढेको छ । मानिसहरूमा सेयरप्रति निकै आकर्षण बढेको देखिन्छ । जबकी यो क्षेत्र देशकै दुर्गममध्येमा पर्छ ।’ महाकुलुङमा सरकारले नै कार्यक्षेत्र तोकेर नै एभरेष्ट बैंकलाई शाखा खोल्न लगाएको हो । 

ती कर्मचारी थप्छन, ‘साहस उर्जा जलविद्युत कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री खुला गरेको थियो । त्यही भएर पनि होला, यो बेलामा धेरै मानिसहरू आउनु भएको छ ।’ उक्त कम्पनीले आयोजना प्रभावितका लागि ३५ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । बर्खाको समयमा पनि मानिसहरू घण्टौं हिडेर आएको आफूहरूलाई अच्चम्म लाग्ने गरेको उनले बताए । 

उनी भन्छन्, ‘कति घाटाबाट आउने गर्नुहुन्छ । आउँदा आउँदै ढिलो हुन्छ । तै पनि हामीले जतिसक्दो चाँडो सेवा दिने, उहाँहरूलाई सिकाउने, सहजीकरण गरिदिने गछौं । हाम्रा पनि धेरै अप्ठ्यारा छन् । कहिले काहीं भनेको समयमा बिजुली हुँदैन् । कहिले इन्टरनेट हुन्न । कहिले नेटवर्क हुन्न । यस्तो अवस्थामा पनि हामी उहाँहरूलाई सकेसम्म बास बस्नुपर्ने अवस्था नबनाउने कोशिष गछौं  ।’

Advertisement