राष्ट्र संघको महासभामा अफगानिस्तान र म्यान्मारबारे बोले परराष्ट्रमन्त्रीले

Advertisement

एजेन्सी । न्यूरोर्कमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभाको ७६औँ सत्रमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले अफगानिस्तान र म्यान्मारबारे पनि बोलेका छन् । 

महासभाको अन्तिम दिन उनले कोभिड महामारी, जलवायु सङ्कटदेखि अफगानिस्तान र म्यान्मारको पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि बोलेका हुन् । कोभिडले विश्व अर्थव्यवस्थामा परेको असर र स्वास्थ्य सेवा प्रवाहमा रहेको कमजोरीलाई देखाएको बताउँदै खड्काले यो समस्या कमजोर राष्ट्रमा अझ बढि देखिएको बताएका छन् । शक्ति राष्ट्रहरूलाई आफ्नो सैन्य बजेटको केही हिस्सा कोभिड नियन्त्रणका लागि लगाउन पनि उनले आग्रह गरे । 

Advertisement

उनले भनेका छन्, ‘खोपमा असमानता भएका कारण यसको असर न्यून आय भएका मुलुकमा आर्थिक कारणले देखिएको छ ।  सबै मानिसलाई निष्पक्ष र समानरूपमा खोपको सुनिश्चितता हुनु जरुरी देखिन्छ । खड्काले नेपालमा झन्डै २० प्रतिशत जनतालाई खोप दिइएको जानकारी पनि गराए । 

परराष्ट्रमन्त्री खड्काले खोप दिने राष्ट्रहरूमध्ये अमेरिका, बेलायत र जापानको नाम लिए पनि चीन र भारतको लिएनन् । उनले अफगानिस्तानबारे बोल्दै अफगान नागरिक गौरवसाथ जिउन र आधारभूत अधिकार र स्वतन्त्रता उपभोग गर्न पाउनुपर्ने बताए । खड्काले अफगानिस्तानमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न संलग्न सबै पक्षलाई आग्रह पनि गरेका थिए । उनले अफगानिस्तानमा बिना अवरोध मानवीय सेवा, शिक्षा तथा स्वास्थ्यमा जनताको पहुँच जरुरी रहेको पनि औंल्याएका थिए । अफगानिस्तानले अन्तर्राष्ट्रिय समूदायसँग संलग्न हुन पाउनुपर्ने खड्काको जोड थियो । 

साथै, मन्त्री खड्काले म्यान्मारका जनताको चाहनाअनुसार प्रजातन्त्र पुनःस्थापना गर्न आग्रह गरे । उनले म्यान्मारका जनताको आधारभूत अधिकार र स्वतन्त्रालाई सम्मान गर्न पनि आग्रह गरे।

जलवायु परीवर्तनबारे बोल्दै मन्त्री खड्काले सगरमाथासहित अग्ला हिमालहरू आरोहण गर्न स्वागत गरिने तर फर्किने क्रममा त्यहाँ गरिने फोहोर व्यवस्थापनको विषयमा पनि सहकार्य गरिने बताए । उनले नेपाल नेपाल जलवायु परिवर्तनको मारमा रहेको बताए । नेपाल सन् २०३० भित्र जलवायु अनुकूल विकास मार्गमा जाने र सन् २०५० भित्र शून्य उत्सर्जन गर्ने आफ्नो वाचामा प्रतिबद्ध रहेको खड्काले बताए ।

Advertisement

Advertisement