अमेरिकाको आकर्षक जागिर र सुविधा छोडेर आफ्नो मुलुकमा अर्बौंका परियोजना अघि बढाउँदै कर्मा

Advertisement

काठमाडौं । शेयर कारोबार गर्ने अमेरिकाकै शक्तिशाली संस्था ‘वाल स्ट्रिट’ र ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा सहायक प्रोफेसरको आकर्षक जागिर छोडेर नेपाल फर्किएका कर्मा तेन्जिङले नेपालमा अर्बौं लगानीका परियोजनालाई अघि बढाएका छन् । 

अमेरिकाको जागिर र सुखसयल छोडेर मातृभूमि फर्किएका उनी आफ्नै देशमा केही गरौं भन्ने भावनाले बढी प्रेरित देखिन्छन् । ठूलो जमात सुखसयल र मोजमस्तीका लागि आफ्नो मुलुक छोडेर अमेरिका पलायन हुने गरेको अवस्थामा कर्माले स्वदेश फर्किएर नयाँ नयाँ परियोजनामा लगानी बढाउँदै गएका छन् । 

Advertisement

समाजसेवी, शिक्षासेवीको पहिचानसमेत बनाएका उनले  अहिले पाँच तारे चेन होटल र छ अर्ब रुपियाँ लागत अनुमानमा कर्मा रेसिडेन्सीको नाममा अपार्टमेन्टहरुसमेत निर्माण अघि बढाएका छन् । व्यवसायमा एकपछि अर्को सफलता हासिल गरेका कर्माको व्यवसायिक र सामाजिक यात्राको लामो कथा छ । 

कर्माको कथा 
कर्मा तेन्जिङ २०३५ सालमा जन्मिएका हुन् । चार वर्षको उमेरमा दार्जिलिङको सेन्ट पल बोर्डिङ स्कुलमा पढ्न गएका उनी त्यहीं कक्षा १० सम्म पढे । कक्षा ११ र १२ सिम्लाको बिशप कटन स्कूल पढे । 

दार्जिलिङको मःमःको स्वादबाट प्रभावित भएका कर्माले नेपालमा आएपछि मःमः कर्मा नामक क्याफे पनि खोले । पढाइको सिलसिलामा उनी सन् १९९८ मा उच्च शिक्षाका लागि अमेरिका पुगे । अमेरिकाको ‘न्युयोर्क’ विश्वविद्यालयबाट स्नातक गरेपछि ‘फोर्डह्याम’ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्ने क्रममा संसारकै सबैभन्दा ठूलो शेयर कारोबार हुने अमेरिकी संस्था ‘वालस्ट्रिट’मा काम गर्ने अवसर पाए ।

वालस्ट्रिटअन्तर्गत इन्भेस्टमेन्ट बैंकिङ कम्पनी ‘लेमन ब्रदर्स’ र ‘मोर्गन स्ट्यान्ल्सी’मा २००२ देखि २०१६ सम्म काम गरेका कर्माले संसारकै सबैभन्दा ठूलो स्टक मार्केटमा १४ वर्ष बिताए । उनी भन्छन, ‘त्यहाँ काम गरिरहँदा नेपाल फर्कन्छु भन्ने लागेकै थिएन ।’ ‘एफएक्स समिटर’ नामक दैनिक समाचारपत्रको प्रधान सम्पादक भएर समेत काम गरे । उक्त पत्रिका विश्वका ठूला बैंक तथा वित्तीय कम्पनीहरूमा वितरण गरिएको थियो । 

कर्माले सन् २०१३ देखि २०१७ सम्म ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा बीबीए र एमबीए तहका विद्यार्थीलाई पढाए । उनी त्यहाँ अर्थशास्त्रका सहायक प्राध्यापक थिए । एक दिन कर्माले ‘द गार्जियन’ पत्रिकामा विश्वकप २०२२ खेल्न रंगशाला बनाइरहेका नेपाली कामदारले कतारमा भोगिरहेको दुःखबारे समाचार पढे । त्यहाँ कैयन् नेपाली कामदारको मृत्युसमेत हुने गरेको समाचार पढेपछि झस्किएका कर्माले  २०१३ को अक्टोबरमा त्यहाँ बसोबास गर्दै आइरहेका करिब दुई सय नेपाली र अन्यलाई भेला गरेर ‘इण्ड ह्युमन एक्सप्लोयटेसन इन कतार’ र ‘इण्ड वर्कर स्लेभरी इन कतार’ लेखिएको प्लेकार्डसहितको र्याली निकाले । 

न्युयोर्क टाइम्सको कार्यालयदेखि संयुक्त राष्ट्रसंघको कार्यालय हुँदै अमेरिकास्थित कतारको दूतावाससम्म लगिएको उक्त र्यालीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत कभरेज पाएको थियो । कर्माले विश्वकै पहिलो पिटिसन हस्ताक्षरको आह्वानसमेत गरेका थिए जसमा न्युयोर्कबाट त्यस समय ३४ हजार मान्छेले हस्ताक्षर गरेको थिए । 

कर्माका बाबुले मनाङका बालबालिकालाई पढाउन सन् २०४२ सालमा काठमाडौंको महाराजगन्ज नजिक ‘काठमाडौं भ्याली स्कुल’ खोलेका थिए । पछि बाबुले उक्त स्कुल बेच्न खोजे पनि कर्माले बेच्न दिएनन् र नेपाल फर्किएपछि आफै स्कुलको प्रधानाध्यापक भएर उक्त स्कुल सञ्चालन गर्दै आएका छन् । बाबुले स्कुल बेच्न खोजेपछि गम्भीर बनेका कर्मा अमेरिकी जीवन रोज्ने कि मातृभूमि फर्किएर आमा बाबुको साथमा रहेर स्कुल चलाउने ? भन्ने कुरामा केही समय दोधार पनि भए । तर उनले आफ्नै मुलुक फर्किने निर्णय गरे । 

नेपाल फर्किएपछि उनले स्कुल पुनर्निर्माण गरी चार सय विद्यार्थीमध्ये तीन सय जनालाई छात्रवृत्तिमै पढाए । कर्माले दुई वर्षमा साढे दुई करोड  रुपियाँको छात्रवृत्तिमा खर्च गरे । बाबुले खोलेको स्कुलको संरचना निकै पूरानो र जिर्ण बन्द गएकाले हालै कर्माले उक्त स्कुल स्वयम्भुमा राष्ट्रिय निकुञ्ज नजिकैको रमणीय स्थानमा स्थानान्तरण गरी आधुनिक सुविधासहित निर्माण गरेका छन् ।  

कर्माले सडक बालबालिकादेखि अनाथ  बालबालिका, वृद्धाश्रमसम्मलाई सहयोग गर्दै आएका छन्  । सडकका कुकुरहरुले दुःख पाएको समेत देख्न नसक्ने उनले त्यस्ता सामुदायिक कुकुरको उद्दार र खानपिनमा पनि सहयोग गर्छन् । कर्माले अहिले डाँडागाउँको अनाथ आश्रमका जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रावृत्ति दिएर पढाइरहेका छन् । साथै उनी दुर्गमका अस्पतालमा औषधि पठाइरहन्छन्। 

विगत ७ वर्षमा एक हजार भन्दा बढी छात्रवृत्ति प्रदान गरेका कर्मा भन्छन्, ‘वार्षिक लगभग दुई सय जना विद्यार्थीलाई छात्रवृत्ति पाएका छन् । मेरो लक्ष्य यसलाई एक हजार बनाउने छ ।’ 

कर्माको ‘इन्टू द हिमालय’ नामक कम्पनी पनि छ । यसले पर्वतारोहण अभियान र पदयात्रामा काम गर्छ । कर्माले भन्छन्, ‘मैले २०२० मा गुड कर्म ग्रुप अफ् कम्पनी सुरु गरें । जसले घरजग्गा, हस्पिटालिटि, शिक्षा र ट्रेकिङ तथा क्लाइमिङको व्यवसाय गर्छ ।’ कर्मा उक्त ग्रुपको अध्यक्ष हुन् । सोही ग्रुपअन्तर्गत होटल र हाउजिङ तथा अपार्टमेन्ट व्यवसायमा समेत प्रवेश गरेका हुन् । 

कर्माले बनाउन लागेको पाँच तारे चेन होटल ‘मेरिडियन’ हो । होटल निर्माणका लागि सम्झौता भइसकेको छ । तर पहिला अपार्टमेन्ट निर्माणको काम सुरु भएपछि बल्ल होटल निर्माणको काम सुरु हुने उनले बताए । एक सय ७० रुम, एउटा क्यासिनो, दुई वटा रेस्टुराँ, बार र रुफटफ डाइनिङ रुम रहने होटल निकै आकर्षक हुनेछ । 

कर्मा पैदलयात्रा, पर्वतारोहणको पारखी पनि हुन् । हालसम्म उनले सगरमाथा, मनास्लु, आकानकागुवा, किलोमान्जारो र अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमालको आरोहण गरिसकेका छन् । कर्मा ‘अमेरिका–नेपाल फ्रेण्डसिप टिम’ नामक पर्वतारोहण अभियानका टिमका लिडर पनि हुन् । कर्माले टिमको नेतृत्व गरेर जुन ८ मा अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीको संयुक्त आरोहण गरेका थिए । उक्त आरोहणमा ७ जना नेपाली आरोही र एक अमेरिकी आरोहीको सहभागिता रहेका थियो । सातै महादेशका उच्च शिखर पुग्ने उनको सपना छ । 

कर्माले राजधानीको महाराजगञ्जमा निर्माण गर्न लागेको कर्मा रेसिडेन्सी (अपार्टमेन्ट) भूकम्प प्रतिरोधी र सुविधासम्पन्न हुने जनाइएको छ । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउन भन्दै उनले यो अपार्टमेन्ट २०१५ को भूकम्पपछि भूकम्प प्रतिरोधी पहिलो भवन बन्न लागेको बताएका छन् । कर्मा रेसिडेन्समा प्राइभेट गार्डेन, हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि रहने छ ।

उनका अनुसार अपार्टमेन्टमा प्रि–बुकिङ गर्न चासो देखाउनेहरुको संख्या निकै ठूलो छ । यस अपार्टमेन्ट निर्माणको घोषणाअघि नै ८० भन्दा अपार्टमेन्ट बुकिङ भइसकेको छ । करिब १६२ वटा अपार्टमेन्टमा अब सीमित अपार्टमेन्ट मात्रै बाँकी रहेको उनी बताउँछन् । 

Advertisement

Advertisement