फर्निचर एक्स्पो भदौ २३ बाट, स्वदेशी काठ कुहिने, बाहिरबाट आयात गर्नुपर्ने व्यवसायीलाई बाध्यता

Advertisement

काठमाडौं । आठौं संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ आउँदो भदौ २३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने भएको छ । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना हुन लागेको मेला पाँच दिनसम्म चल्नेछ । संघका अध्यक्ष शुभेन्द्र जोशीले मेलामा भान्सा, शयनकक्ष, शौचालयका साथै घरभित्र र बाहिरका फर्निचर डिजाइन, कार्पेट, मार्बललगायत सामग्रीहरु राखिने बताए । 

Advertisement

उनले नेपालमै उत्पादित सामग्रीलाई विशेष प्राथमिकता दिइएको बताउँदै मेलामा नेपाल र भारतका साथै इजरायल, बेल्जियमलगायतको सहभागिता रहने जानकारी दिए । यस पटकको मेलामा नेपालकै नयाँ डिजाइनका गलैंचा राखिने पनि बताए । उनले भने, ‘पहिला गलैंचा बाहिरबाट आयात गरिन्थ्यो । अहिले नेपालमै बन्न थालेको छ । नेपाली गलैंचालाई नै प्रवर्द्धन गरौं भन्ने हो ।’ 

जोशीले यसपटक नेपाली कम्पनीहरुले स्टलमा आफ्ना उत्पादित सामग्रीहरुको प्रदर्शन गर्न धेरै इच्छा देखाएर अगाडीदेखि नै बुकिङ गरिराखेको पनि बताए । उनले एक्स्पोमा करिब छ सय व्यवसायी आवद्ध रहने बताए । 

हलभित्र र बाहिर दुबै ठाउँमा फर्निचर तथा फर्निसिङका सामानहरु प्रदर्शनमा राख्न लागेको जोशीले जानकारी गराए । उनका अनुसार भृकुटीमण्डपको हल बाहिरसमेत टेन्टमा सामग्रीहरु प्रदर्शनमा राखिने छ । भित्र सयको हाराहारीमा स्टल हुने छन् । हालसम्म करिब आधाभन्दा बढीले स्टल बुकिङ गरिसकेका छन् । 

मेलाको उद्देश्य ब्राण्डिङ पनि हो भन्दै जोशीले मेलाले के कस्ता नयाँ नयाँ सामानहरु बजारमा आइराखेको छ ? भनेर आममानिसलाई देखाउन र त्यसलाई कसरी प्रयोग गर्ने ? सामानहरुको गुणस्तर कस्तो छ ? जस्तो कुराहरु जानकारी दिने बताए । 

फर्निचर एक्स्पो हाल १०औँ संस्करण हुनुपर्ने भए पनि सन् २०१५ मा नाकाबन्दीका कारण र गएका दुई वर्ष कोरोनाका कारण हुन सकेको थिएन् । कारोना संक्रमण फैलिएदेखि हालसम्म पनि फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सहज अवस्था भइनसकेको भन्दै जोशीले फर्निचरको लागि स्थानीय काठ किन्नभन्दा बाहिरबाट आयात गर्दा सस्तो पर्न आउने गरेको बताए । 

उनले भने, ‘नेपालमा चाहिने फर्निचरको लागि कच्चा पदार्थको रुपमा ९० प्रतिशत प्रयोग हुने भनेको काठ नै हो जुन व्यवसायीले सहज र सुलभरुपमा पाउँदैनन्् । सरकारी नीति बाधक भएकोले विदेशबाट ल्याउनै फाइदा हुन्छ ।’

आर्थिक वर्ष २०७८–७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रूपियाँको काठ आयात भएको थियो भने निर्यात नगन्य मात्रै छ । भन्सार विभागको तथ्यांकनुसार गत आवमा काठको निर्यात ५८ करोड दुई लाख ७६ हजार रूपियाँ बराबर मात्रै छ । 

फर्निचर व्यवसायीले सरकारको अमिल्दो नीतिका कारण देशको काठ प्रायः कुहिएर नष्ट हुने र बाहिरबाट अर्बौंको किनेर ल्याउनुपरेको गुनासो गर्छन् । यद्यपि पछिल्लो समय नेपालमै उत्पादित फर्निचर तथा फर्निसिङ सामानहरुप्रति ग्राहकहरुको जागरुकता बढेको जोशीले स्वीकार गरे । 

Advertisement