Advertisement

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतवार एक कार्यक्रम आयोजना गरेर काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई पुनः प्रभावकारी बनाइने जनाएको हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो । ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । 

Advertisement

उनले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए । शाहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए । 

उनले सवारी चालकहरुले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए । शाहले भने, ‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान शुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । भेकलहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा सवारी गुडाउँदा एउटा धैर्य राख्नुपर्छ ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् । उनले जनचेतनामुलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन् । काठमाडौं महानगरपालिकाले २०७३ साल चैत्रमा नो हर्न अभियान सञ्चालन गरेको थियो । 
 

Advertisement

Advertisement