हामी आयातमा निर्भर भैयो, उत्पादन बढाउन नसके अर्थतन्त्र धरासायी हुन्छः उद्योगमन्त्री बडू

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताएका छन् । 

बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय मुलुक आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धराशायी हुने बताए । 

Advertisement

बडूले सरकारले अहिले भइरहेको आयात कम गर्न नसके अर्थतन्त्रलाई माथि उकास्न नसकिने स्वीकार गरे । उनले देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताए । 

उनले नेपाल कृषिमै परनिर्भर भएको अवस्थामा समग्र अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको अहम भूमिका हुने बताए । बडूले भने, ‘वर्तमान मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको निकास उद्योगको क्षेत्रबाट कसरी दिन सकिन्छ । अहिले मुलुक आयातमा निर्भर बन्दै गएको अवस्था र निर्यात सरकारले अपेक्षा गरे अनुसार बढ्न नसकेको अवस्था छ । आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नको निम्ति मुलुक भित्रको उद्योगलाई व्यापक रुपमा बढाउन सकेनौं र रोजगारी सिर्जना गर्न सकेनौं र नेपाली उत्पादन वस्तुहरुको उपभोग पनि बढाउन सकेनौं भने सरकारले आयातलाई व्यवस्थापन गर्न नसक्ने निस्कर्ष रहेको छ ।’ 

उनले थपे, ‘सरकार क्रमशः आयातलाई प्रतिस्थापन गर्ने रणनीतिमा जान सकेनौं भने मुलुकको अर्थतन्त्र उकास्न सकिँदैन । यो एउटा योजना एउटा आर्थिक वर्षमा नै पूरा हुन्छ भन्ने होइन । तर केही वर्षभित्र मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि प्रधानमन्त्रीसँग जोडेर प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा अगाडि बढाएको हो । मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणालाई प्राथमिकता मानेका छौं । १० वर्षमा एउटा परिणामा पुग्नसक्छौं ।’

Advertisement

Advertisement