भारतको निजी कम्पनी ‘टाटा पावर’ले २०० मेगावाट विद्युत् किन्ने प्रस्ताव पठायो

Advertisement

काठमाडौं । भारतको निजी विद्युत् व्यापार कम्पनी ‘टाटा पावर’ले नेपालबाट दुई सय मेगावाट विद्युत् किन्ने प्रस्ताव पठाएको छ । कम्पनीले पाँच बर्षसम्म बर्खा याममा दैनिक दुई सय मेगावाट विद्युत् किन्ने गरि ऊर्जा मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

गत साता आएको उक्त प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणमा पठाइसकेको मन्त्रालयको प्रवक्ता नवीनराज सिंहले बताए । भारतको निजी कम्पनीबाट विद्युत् किन्ने प्रस्ताव आएको यो संभवतः पहिलो हो । 

Advertisement

हाल प्राधिकरणले भारतको एनटीपीसी, विद्युत् व्यापार निगम (एनभीभीएन) र पावर ट्रेड कर्पोरेशन (पीटीसी) इन्डियासँग विद्युत् व्यापार गर्दै आएको छ, जुन कम्पनीहरु सरकारी स्वामित्वका हुन् । अहिले निजी क्षेत्रबाट पनि प्रस्ताव आउनु सकरात्मक रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

स्रोतकाअनुसार टाटा पावरले त्यहाँको सरकारी कम्पनीले दिइरहेको रेटभन्दा पनि बढी मूल्यमा विद्युत् किन्ने प्रस्ताव गरेको छ । कम्पनीले मध्यकालिन अवधी (पाँच बर्ष)का लागि विद्युत् किन्ने प्रस्ताव गरेको हो ।

यसअघि भारतको खुला बजारमा प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री गर्दै आएको प्राधिरकणले गत बर्ष जेठमा भारतको एनभीभीएनसँग २०० मेगावाट विद्युत् बिक्री गर्ने गरि मध्यकालिन सम्झौता गरिसकेको छ । त्यसमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपियाँ)मा विद्युत् खरीद बिक्री गर्ने सम्झौता छ । 

टाटा पावरले भने त्योभन्दा पनि बढी मूल्यमा विद्युत् किन्ने प्रस्ताव गरेको स्रोतको भनाइ छ । स्रोतकाअनुसार टाटा पावरले प्रतियुनिट ५.९० भारुमा विद्युत् किन्ने प्रस्ताव गरेको छ । 

भारतमा थप ४०० मेगावाट विद्युत् बिक्री गर्न नयाँ सम्झौता हुँदै
प्राधिकरणले भारतमा मध्यकालिन मोडलमा थप ४०० मेगावाट विद्युत् बिक्री गर्न अर्को सम्झौता गर्ने तयारी पनि गरिरहेको जनाएको छ । हाल यससम्बन्धी मस्यौदा भारतको विद्युत् नियमन आयोगबाट स्वीकृत हुने चरणमा रहेको भन्दै प्राधिकरण स्रोतले त्यहाँबाट स्वीकृत भएपछि उक्त सम्झौता पत्रमा दिपक्षीय हस्ताक्षर हुने बताएको छ । 

प्राधिकरणले गत बर्ष जेठमा पीटीसी इन्डियासँग दुई सय मेगावाट विद्युत् खरीद बिक्री गर्ने गरि सम्झौता गरेको थियो । त्यस अन्तर्गत बर्खामा ११० मेगावाट विद्युत् भारतमा निर्यात हुन सुरु गरिसकेको छ । बाँकी ९० मेगावाट विद्युत् निर्यातका लागि आयोजना स्वीकृत हुने चरणमा छ । 

अहिले आएर भारतले मध्यकालिन मोडलमै थप चार सय मेगावाट विद्युत् मध्यकालिन मोडलमा किन्ने प्रस्ताव गरेको हो । त्यसमा एनभीभीएन र पीटीसी इन्डियालाई २००–२०० मेगावाट विद्युत् बिक्री गर्ने तयारी छ । टाटा पावर र यो सम्झौता हुन सक्यो भने ६०० मेगावाट विद्युत्को लागि बजार सुनुश्चित हुनेछ । यसअघि भएको सम्झौतासहित भारतीय बजारमा मध्यकालिन मोडलमा आठ सय मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । 

भारतमा विद्युत् बिक्री गर्न अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरेर तीन प्रकारका बजार छन् । पहिला नेपाललाई अल्पकालिन बजार अर्थात् त्यहाँको पावर एक्सचेन्ज मार्केटमा मात्रै विद्युत् खरीद बिक्री गर्न अनुमति थियो । गत बर्ष जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा मध्यकालिन र दीर्घकालिन विद्युत् व्यापार पनि गर्ने समझदारी भएको थियो । त्यसको अन्तिम सम्झौता भने गत पुसमा भएको थियो । त्यसपछि नेपाल र भारतबीच मध्यकालिन र दीर्घकालिन विद्युत् व्यापार गर्ने प्रक्रिया पनि अघि बढेको छ । 

भारतमा विद्युत् बिक्री गर्न पीपीए सम्झौता गरेर मात्रै हुँदैन । निर्यात गरिने बिजुलीका लागि आयोजनानै तोकेर त्यहाँको सरकारबाट थप स्वीकृत लिनुपर्छ । किनभने भारतले चिनियाँ लगानी र चिनियाँ निर्माण कम्पनीले बनाएका आयोजनाको बिजुली नकिन्ने अडमिल्दो शर्त राख्दै आएको छ । हालसम्म भारतले मध्यकालिन र अल्पकालिन बजारमा कुल ६९० मेगावाट विद्युत् निर्यात गर्ने स्वीकृत दिएको छ । भारतले थप स्वीकृत दिएको अवस्थामा यो बर्खामा एक हजार दुई सय मेगावाट विद्युत् निर्यात गर्ने प्राधिकरणको योजना छ । 

नेपालमा नदी प्रवाहमा आधारीत जलविद्युत् आयोजना छन् । बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसबेला भारतमा विद्युत् निर्यात गर्ने पुग्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि कम हुन्छ । यसबेला भने स्वदेशी उत्पादनले नपुगेर भारतबाट विद्युत् आयात गर्नुपर्छ । अहिले सुख्खा यामका कारण भारतबाट विद्युत् आयात भइरहेको छ । यद्यपि, यही जेठ अन्तिम वा असारको पहिलो सातादेखि भारतमा विद्युत् निर्यात गर्न सकिने प्राधिकरणको विश्वास छ ।

Advertisement

Advertisement