काठमाडौं । भारी वर्षा र पदमार्गमा पहिरो जाँदा पदयात्रामा गएका धेरै आन्तरिक तथा विदेशी पर्यटक विभिन्न ठाउँमा अलपत्र परेका छन् । अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमालमा हिमाल आरोहणका लागि गएका झण्डै सात सय सहित झण्डै दुई हजार पर्यटक अलपत्र परेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
खराब मौसमसँगै जहाजहरुको उडान नहुँदा रामेछापमा ठूलो संख्यामा पर्यटकहरु अलपत्र परेका छन् । यही बेलामा उद्दार कार्यमा प्रयोग हुने हेलिकप्टरहरु पनि नेताहरुले चुनावी प्रयोगका लागि दबाब दिएर प्रयोग गर्न थालेकाले पर्यटकहरुको उद्दार गर्न नसकिएको व्यवसायीहरुको गुनासो छ ।
एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाले रामेछापमा धेरै पर्यटक अड्किएर बसेको बताए । सो ठाउँमा होटल तथा रेष्टुरेन्टहरुको सुविधा राम्रो नहुँदा उनीहरुको खानपिन र बसोबासमा ठूलो समस्या परेको उनले बताए ।
शेर्पाले पदयात्राका लागि नेपाल आएका धेरै पर्यटक काठमाडौंमा आएर बसेको सुनाउँदै हिमाली क्षेत्रमा पर्यटकहरु हलपत्र परेको र उनीहरुले पाएको सास्ती देखेर काठमाडौंका पर्यटकहरु पनि पदयात्रामा जाने आँट नगरेको गुनासो गरे ।
उनले भने, ‘यो कुरामा सरकार मौन छ । अहिले जति हेलिकप्टर बाँकी छ, त्यो पनि गृह मन्त्रालयको निदेशनमा मनास्लु, मनाङ र धवलागिरी क्षेत्रमा फँसेको उद्दारमा लागेको देखिन्छ । यता ध्यान नै दिइएको छैन् ।’
शेर्पाले मौसम खराब भएर जहाज उडान नभएपछि साह्रै चुनौती भइरहेको सुनाए । उनले भने, ‘रामेछापमा पर्यटकहरु अड्किएको चार दिन भइसक्यो । ४० जना मेरै पर्यटक अड्किएका छन् ।’
अहिले पर्यटकहरु हिमाल आरोहण गर्ने सिजन भएकाले धेरै पर्यटक आरोहणको क्रममा रहेको र कतिपय तयारीको अवस्थामा रहेको बेला मनसुन सुरु हुँदा उनीहरु अलपत्र परेका हुन् । शेर्पाले थपे, ‘खुम्बु तिर त्यतिकै पर्यटकहरु अडकिएका छन् । हेलिकप्टरमा आउँछु भनेकाहरुलाई पनि अहिले हेलिकप्टर अभाव
भएको छ । लुक्लाको मौसम यसरी नै निरन्तर खराब भइरयो भने नेपालको पर्यटन क्षेत्र नै ध्वस्त हुने अवस्था आउनसक्छ ।’ फाप्लुमा धेरै पर्यटक अलपत्र रहेको उनले बताए ।
रामेछापमा पर्यटकहरु राम्रो भौतिक पूर्वाधार नभएका कारण खान बस्न गाह्रो भएको, अहिले रहेको ठाउँ पनि त्यत्तिकै अव्यवस्थित रहेकोले पर्यटकहरु छटपटाउने, विरामी पर्ने अवस्था आएको बताउँदै शेर्पाले भने, ‘वैकल्पिक मार्ग भएर गाडीमा काठमाडौं जानलाई पनि जीपहरु महंगो । महंगो पैसा तिरेर जान्छु भन्दा पनि नपाउने अवस्था छ ।’
रामेछाप–लुक्ला उडान सुरु गरेर राम्रो भए पनि खराब मौसममा जहाज नचल्दा रामेछापमा पर्यटकले अन्तभन्दा झन धेरै समस्या झेल्नुपरेको उनले बताए । आफूहरुले अडकिएका पर्यटकलाई एक–दुई दिनमा मौसम खुल्छ भन्दै आशा देखाएर राख्नुपरेको शेर्पाले बताए ।
शेर्पाले नेपाल प्राकृतिक विविधताको दश भएकाले नेपाल घुम्न आउने पर्यटकहरुलाई कसरी सहजीकरण गर्ने ? कसरी उनीहरुको यात्रा सुरक्षित गर्ने, आपतकालिन समयमा कसरी उद्दार गर्ने ? भन्ने कुराहरु सरकारले ध्यान दिनुपर्ने भए पनि ध्यान नदिएको बताए । सरकारको उपेक्षाको महशुस पर्यटन व्यवसायीले मात्रै नभएर पर्यटकहरुले समेत गरेको उनले बताए ।
फकडिङसम्म रुट भयो भने पर्यटनहरु सगरमाथा क्षेत्रमा निकै धेरै पुग्नसक्ने बताउँदै शेर्पाले एक–दुई वटा हेलिकप्टरको भरमा मात्रै हिमाली पर्यटनको विकास र विस्तार हुन नसक्ने बताए । उनले भने, ‘मनास्लु, मनाङ र धवलागिरी क्षेत्रमा पहिरो, हिमपहिलो खस्दा खेरी आम्रिको हेलिकप्टर संचालन गर्न पायो भने हामीलाई राम्रो हुन्थ्यो । तर त्यो पनि गर्न सकेको छैन् । नेपाल पर्वतारोहण संघ र टानले भनिराखेको छ । सरकार सुन्दै सुन्दैन् ।’
अहिले फँसेका पर्यटकहरुको उद्दारमा अझै सरकारले ध्यान दिएन भने उनीहरुले नेपाल खराब छ, अडकिए पनि उद्दार गर्न सक्दैन्, सर्भिस राम्रो छैन् भनेर आफ्नो सामाजिक सञ्जालतिर लेख्न थाले शेर्पाले चिन्ता व्यक्त गरे । यस्तो भयो भने भोलिका दिनमा नेपाल आउने पर्यटकमा भारी गिरावट आउनसक्ने बताउँदै उनले यसले पर्यटन क्षेत्रका धेरै कम्पनी डुब्ने र नेपालको विदेशी मुद्रा पनि घट्ने बताए ।
शेर्पाले भने, ‘हामीले प्रकृतिसँग जुध्न सक्दैनौं । केही न केही उपाय निकाल्न सक्नुपर्छ । काठमाडौंबाटै कही समयका लागि हेलिकप्टर सञ्चालन गरेर हुन्छ कि कसरी हुन्छ ? उपाए निकाल्नु पर्यो । रामेछापमा वैकल्पिक मार्ग नदिएर पनि समस्या भएको हो । सबै तिमीहरु रामेछाप जाउ, त्यहींबाट जहाज चढ, यहाँ ट्राफिक जाम भयो पनि भन्ने, रामेछापमा पूर्वाधारको विकास पनि नगर्ने, उद्दार पनि नगर्ने ? अनि पर्यटन विकासको कुरा गर्ने । यो तरिकाले मिल्दैन् ।’
धेरै दिनसम्म अव्यवस्थित ढंगले पर्यटकहरुलाई राख्नुपर्दा रामेछाप
फोहोर हुँदै गएको, जसका कारण लामखुट्टे लाग्ने, डेगु संक्रमण हुनसक्ने जोखिम बढेको भन्दै शेर्पाले भने, ‘धेरै पर्यटक त्यहाँ फँसिसके । रामेछापमा पर्यटकको चहलपहल बढ्यो भनेर मात्रै के गर्ने ? राम्रो व्यवस्थापन छैन् । होटल लज पर्याप्त मात्रामा छैन् । भएको पनि सुविधासम्पन्न छैन् । रामेछापको व्यवसाय बढाउने नाममा विदेशी पर्यटकलाई सास्ती दिनु त भएन नि ।’
टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले दुई हजार जना आन्तरिक तथा विदेशी पर्यटकहरु विभिन्न क्षेत्रमा समस्यामा परेको बताए । प्रतिकुल मौसमका कारण रामेछापमा लुक्ला उडान हुन नसकेको तर पर्यटकहरुथपिने क्रम दिनदिनै बढेको बताउँदै उनले पर्याप्त मात्रामा बासस्थान र खानाको सुविधा नभएकोले पर्यटक तथा नेपाली मजदुरहरु विचल्लीमा परेको बताए ।
खुम्बु क्षेत्रमा जाने करिब करिव दुई हजार पर्यटक रामेछापबाट लुक्ला उडान नभएका कारण अड्किएको पण्डितको भनाई छ । उनले भने, ‘यतिका पर्यटकहरु त्यहाँ अड्किएका कारण हामीले हिजो नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग कुरा पनि गर्यौं । पर्यटकको मुख्य सिजन भएकोले भर्खरै संचालनमा आएको रामेछापको मन्थली विमास्थलबाट पर्यटकहरुको व्यवस्थापन सहज नभएकोले लुक्लाको उडान कम्तिमा अक्टोबर महिनाको अन्तिमसम्मको लागि त्रिभुवन विमानस्थलबाट सुचारु गराइदिन अनुरोध गरेका छौं । महानिर्देशकले प्रयास गर्छु भन्नुभएको छ ।’
अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमालमा गएका करिब ५ सय देखि ७ सय स्वदेशी तथा विदेशी पहिरोका कारण अलपत्र परेको जानकारी टानमा आइपुगेको पण्डितको भनाइ छ । टानबाट सेप्टेम्बर महिनामा मात्रै करिब २८ सय वटा पदयात्रा अनुमति कार्ड (टिम्स कार्ड) जारी भएको देखिन्छ ।
टानबाहेक पर्यटन बोर्डले पनि टिम्स जारी गर्छ ।मनाङमा पदयात्राका क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ भने तीन नेपाली गाइड बेपत्ता छन् । ढोरपाटनमा ४ जना नेदरल्यान्डका नागरिक र ७ जना नेपाली हराइरहेका छन् । खुम्बु सांग्रिला ट्रेक कम्पनीका एक नेपाली गाइड मनास्लु क्षेत्रको लार्केबाट हराइरहेका छन् । त्यस्तै फोर सिजन माउन्टेन ट्रेकका दुई गाइड बालकुमार कार्की र देव लामा म्याग्दीको फ्रेन्चपासबाट हराइरहेका छन् ।
त्यस्तै, रामेछापमा पर्यटकहरुसँगै अड्किएका विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले कपोरेट नेपालसँग कुरा गर्दै भने, ‘रामेछापमा धेरै विदेशी पर्यटक तथा आन्तरिक पर्यटकहरु विचल्लीमा परेका छन् । हामी बस्ने होटलमै करिब एक सय भन्दा बढी पर्यटकहरु कठिन ढंगले बसेका छौं । खाना बस्न होटलहरुको राम्रो व्यवस्थापन नहुँदा विदेशी पर्यटकहरु दुःखमा छन् । अलि राम्रो होटल भनेको एक–दुई ठाउँमा मात्र छ । त्यसमा पनि खान बस्न गाह्रो भइरहेको अवस्था छ ।’
कुल ३१ वटा हिमाल आरोहणका लागि ६७ देशका सात सय ८५ जनाले शरद ऋतु लागि हिमाल आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमध्ये १८८ जना महिला र ५९७ जना पुरुष छन् । उनीहरुबाट सरकारले छ करोड ५९ लाख ९३ हजार ५२४ रुपियाँ रोयल्टी पनि उठाएको छ ।