बयानमा सन्दीपले भने– मलाई कसैको उक्सावटमा फँसाइयो, किशोरीको बयान शंकास्पद छः वकिल

Advertisement

काठमाडौं । लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो । 

सत्र वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलवार उनको बयान भएको हो । 

Advertisement

बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताए । उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला शुरु भएको बताए । 

सापकोटाले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्सावटमा अभियोग लगाएको बयान दिएको बताएको जानकारी दिए । सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताउँदै उनले पीडित भनिएकी किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताए । 

सापकोटाले किशोरीको बयान शंकास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरुले वकालत गर्ने स्पष्ट पारे । उनले भने, ‘पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको व्यहोरामा डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ । त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’


सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । 

Advertisement

Advertisement