मृगौला रोगीहरुको सेवामा किष्ट अस्पतालः डेढ वर्षमै ५० जनाको मृगौला प्रत्यारोपण

Advertisement

काठमाडौं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्षदेखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । यस सेवाको साथ साथै  किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन श्रोत जुटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले २०७७ फागुन १८ गते यस अस्पताललाई मृगौला प्रत्यारोपण कार्यको स्वीकृति प्रदान गरेको हो । अस्पतालले मिति २०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको थियो ।

Advertisement

आजका मितिसम्म आउँदा यस अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण सेवाका लागि देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट यस अस्पतालको सम्पर्कमा आई मृगौला प्रत्यारोपण गरी आ—आफ्नो काममा फर्किसकेका छन् । प्रतिष्ठानले सुलभ, सहज र गुणस्तरीय प्रत्यारोपण सेवा प्रदान गरेका कारण विगतमा यस सेवा लिनका लागि विदेश जानुपर्ने वाध्यतालाई केही हद सम्म रोक्ने प्रयास गरेकोछ ।

हाल डा. सन्तोषकुमार क्षेत्री र डा. नारायणकुमार भुसाल विशेषज्ञका रुपमा कार्यरत छन् । 

अङ्ग प्रत्यारोपण कार्य आफैमा जटिल छ भने यस संग जोडिएका अनेकौ कानूनी जटिलताहरु पनि छन् । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिमको कानूनी आधार भए नभएको जाँची बुझी प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृति समितिले सिफारिश गर्दछ । 

प्रचलित कानून बमोजिम नजिकको नातेदारले आफ्नो अङ्ग दान दिन पाउने हुँदा नातेदार परिवारका सदस्यहरु दाता र ग्रहणकर्ता वीच रगत परीक्षण मेल नखाएमा यस्तै परिस्थितिबाट गुज्रिरहेको अर्को परिवार वीच पारस्परिक सहमति भएमा दुवै विरामीको एकै साथ प्रत्यारोपण कार्य गर्न सकिने कानूनी प्रावधान छ । यस्तो प्रत्यारोपण गर्ने निजी अस्पतालहरुमा किष्ट शिक्षण अस्पताल पहिलो र एक मात्र संस्था हो ।

मृगौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि सर्वसाधारणले पनि यो सेवा लिन सकुन भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपण सम्बन्धि विभिन्न शिर्षकहरुमा हदै सम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिदै आएको छ । हाल यस अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च रु चार लाख पचास हजारबाट शुरु हुन्छ । प्रत्यारोपण सेवा सुलभ हुनुका साथै प्रकृयालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ । 

विरामी पहिलो पटक अस्पतालमा आए देखि चिकित्सकीय परामर्श र कानूनी परीक्षणलाई साथसाथै अगाडि बढाईन्छ । जसका आधारमा प्रत्यारोपणको निर्णय लिन ६,७ चरणको छलफल भेटघाट र परीक्षण पश्चात सवै आधारहरु ठीक भएमा बिरामी सम्पर्कमा आएको दिनबाट छिट्टोमा १३ दिन भित्रमा प्रत्यारोपण गराउने गरिएको छ ।  

यस अस्पतालबाट मृगौला प्रत्यारोपणको सेवा लिएका बिरामीहरुले यस अस्पतालको सेवा सुलभ र सहज भएको प्रतिकृया दिएका छन् । 


 

Advertisement

Advertisement