उत्कृष्ट ब्याटिङका साथ नेपाली टोली एक दिवसीय श्रृंखलाको उपाधि घरमै राख्न सफल

Advertisement

काठमाडौं । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले युएईसँगको तीन एक दिवसीय श्रृंखलाको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा भएको अन्तिम तथा तेस्रो खेलमा नेपालले पाहुना टोली युएइलाई ६ विकेटले हराउँदै श्रृंखला २–१ ले पक्षमा पारेको हो । जितको लागि १७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर श्रृंखलाको उपाधि घरमै राखेको हो । 

Advertisement

यसै प्रतियोगिताबाट कप्तानको जिम्मेवारी पाएका रोहित पौडेलले डेब्यू प्रतियोगितामा नै उपाधि नेपाली टोलीलाई दिलाउन सफल पनि भएका छन् । नेपालको जितमा आकर्षक ब्याटिङ गरेका आसिफ शेख १ सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनमा आउट भएका थिए । 

आसिफ र ज्ञानेन्द्रले करियरकै पाँचौं अर्धशतकसमेत पूरा गरेका छन् । ज्ञानेन्द्रले एक दिवसीय करियरको उच्च प्रदर्शनसमेत गरेका छन् । ज्ञानेन्द्रले दुई वर्षअघि ओमानबिरुद्ध टियु मैदानमै ५६ रनको इनिङ खेलेका थिए । जुन ओडिआईमा उच्च प्रदर्शन रहँदै आएको थियो । 

दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय २२ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गर्दा नेपालले एक दिवसीय क्रिकेटमा भएको दोस्रो ठूलो साझेदारी हो । यसअघि गतवर्ष पपुवा न्युगिनीबिरुद्ध तेस्रो विकेटका लागि देव खनाल र दीपेन्द्रसिंह ऐरीले १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए । 

आसिफलाई साथ दिएका ज्ञानेन्द्र ३४ औं ओभरको पहिलो बलमा एलबीडब्लूको धरापमा पर्दा कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १० रनमा रन आउट भएका थिए । यस्तै दीपेन्द्र सिंह ऐरी शुन्यमा पवेलियन फर्किंदा ओपनर अर्जुन साउद ९ रन बटुल्ने क्रममा क्याच हुँदै मैदान बाहिरिएका थिए । युएईका हजरत बिलाल र आयन अफजल खानले १÷१ विकेट लिए भने नेपालका दुई खेलाडी रनआउट हुन पुगेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । ३१.१ ओभरमा ९३–९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले ८३ रनको साझेदारी गर्दा निर्धारित ५० ओभरमा युएईले १ सय ७६ रनको योगफल बनाएको थियो । युएई यु–१९ का कप्तानसमेत रहेका आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनको पारी खेलेका थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक पनि बनाउन सफल भए ।  बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहँदा एलिशान शराफुले ६९ बलमा ४ चौकासहित ३३ रन बनाए । ओपनर मोहम्मद वासिमले ११ रन जोड्दा रोहन मुस्ताफाले २४ रनको व्यक्तिगत स्कोर बनाएका थिए । यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । यूएईको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २–२  विकेट निकाल्दा सोमपाल कामी र ललित राजवंशीको नाममा १–१ विकेट रह्यो ।

यस जितसँगै विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोर्णात्मक श्रृंखलाको तयारीको रुपमा हेरिएको श्रृंखलाबाट नेपाली टोलीलाई मनोबल मिलेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेललाई पनि सुखद् अनुभव मिलेको छ । 

Advertisement

Advertisement