राष्ट्र बैंकको विमतिका बीच मन्त्रिपरिषदद्धारा महंगा गाडी, मोबाइल र मदिरा आयात फुकुवा

Advertisement

काठमाडौं । सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक अवस्था अझै पनि सुधार नभएको बताउँदै आएको बेला सरकारले बिलासिताको वस्तुको रुपमा आयात रोकिएका वस्तुहरु खोलिदिएको हो । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले सो कुराको जानकारी गराएका हुन् । यता व्यवसायीहरुले भने आयात प्रतिवन्ध फुकुवा गर्न राष्ट्र बैंक र सरकारलाई दबाब दिँदै आएका थिए । विशेषगरी अटोमोवाइल र मोवाइल व्यवसायीहरुले आयात प्रतिवन्धबाट आफूहरुको ठूलो लगानी जोखिममा परेको र हजारौं बेरोजगार हुने अवस्था आएको बताएका थिए । 

Advertisement

आयात प्रतिबन्ध लगाएका वस्तुहरू खुलाउनको लागि मुख्यसचिवको संयोजकत्वमा अध्ययन समिति बनाइएको थियो । उक्त समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने बताएपछि आज मन्त्रिपरिषदले निर्णय गरेको हो । 

विदेशी मुद्राको संचितिमा कमी आएको बेला विलासिताका रुपमा हेरिएका वस्तुहरुको आयातमा प्रतिवन्ध लगाइएको थियो । पछिल्लो समयमा विदेशी मुद्राको संचितिमा केही सुधार आई १२ खर्ब ४६ अर्ब २२ करोड रुपियाँ कायम हुन पुगेको छ । यसले करिब ८ महिनाका लागि वस्तु आयात गर्ने पुग्ने राष्ट्र बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement