विमानस्थल सञ्चालनको तयारीपछि पोखरेली व्यवसायीमा खुशीसँगै आशंका, ‘अपेक्षित उडान नहुने हो कि ?’

Advertisement

पोखरा। पर्यटकीय क्षेत्र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लागेपछि यस क्षेत्रका व्यवसायीमा उत्साह थपिएको छ । सरकारले यही आउँदो पुस १७ (जनवरी १)बाट पोखरा विमानस्थलको व्यवसायिक सञ्चालन गर्न लागेको हो । 

चिनियाँ ऋण तथा अनुदान र चिनियाँ ठेकेदारबाट निर्माण भएको पोखरा विमानस्थल सञ्चालनमा आउन लागेको समय पारेर परराष्ट्रमन्त्री नारायण खड्का चीन जाने तयारी समेत गरेका छन् । तोकिएको समयसम्म ढिलै गरी निर्माण भए पनि पोखरामा अन्तर्राष्ट्रिय उडानहरु सुरु हुन लागेको कुराले पर्यटन व्यवसायीसहित अन्य व्यवसायी र गण्डकी क्षेत्रका वासिन्दामा उत्साह देखिएको हो । यदीप यस विमानस्थलको प्राविधिक परीक्षण उडानको प्रतिवेदन भने अझै आइसकेको छैन् । 

Advertisement

ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशील पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीले यस क्षेको विकासमा नयाँ संभावना थपेको बताए । उनले भने, ‘हामी पोखरा पर्यटन व्यवसयीहरु महत्वाकांक्षी छौं । यो विमानस्थलले स्वाभाविकरुपमा पोखरामा पर्यटक आगमनलाई वृद्धि गर्छ । विदेशी तथा आन्तरिक पर्यटकहरु अझै धेरै भित्रिन्छन् भन्नेमा आशावादी छौंं ।’ 

तर पौडेल अपेक्षित उडानहरु नहुने हो कि ? भन्ने कुराबाट सशंकित देखिए । उनले भने, ‘तर चिन्ताको विषय चाहिं एउटा छ । विमानस्थल सञ्चालनमा त आउने, तर अपेक्षित उडानहरु सञ्चालन भएनन् भने के हुन्छ । हाम्रो अनुरोध छ, सक्दो चाँडो धेरै भन्दा धेरै उडानहरु पोखरा विमानस्थलबाट सञ्चालन गर्ने प्रयास होस् ।’ 

पोखरा विमानस्थलबाट धेरै उडान हुनुपर्छ भनेर सो अनुकुलको नीति र सेवा सुविधा दिने हो भने पोखरा विमानस्थलले राम्रो मुनाफ दिने पौडेलको विश्वास छ । उनले धेरै शहरसँग पोखरालाई जोड्न विदेशी एयरलाइन्स कम्पनीहरु पनि कुरा गर्नुपर्ने र देशभित्र पनि विमानहरु थपिनुपर्ने बताए । 

पोखरा विमानस्थलमा आन्तरिक उडानहरु पनि रातिसम्म हुने हो भने त्यो फलदायी हुने पौडेलले बताए । उनले अहिले पोखरामा अपरान्ह ४–५ बजेपछि उडान नहुने गरेको बताउँदै अब अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालनमा आएपछि रातिसम्म उडानहरु हुनसक्यो भने पर्यटक आगमनमा सहज हुने बताए । 

पौडेलले भने, ‘अबका दिनमा राति ढिलासम्म पनि उडान हुने छ भन्ने हामी पर्यटन व्यवसायी आशावादी छौं ।’ उनले भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जस्तै जहाजहरु नगन्य सञ्चालन हुने अवस्था पोखरामा पनि हुने हो कि ? भन्दै पुनः आशंका दोहोर्याए । 

पौडेलले प्रश्न गरे, ‘गत जेठ २ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको गौतम बुद्ध विमानस्थलमा महिनौंसम्म अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले त्यहाँबाट उडान नगर्नुको कारण के रहेछ ? त्यस्तो अवस्था यहाँ नहोस् भन्ने हाम्रो अपेक्षा हो । त्यस्तो हुन नदिन बजार रणनीतिका कुराहरु गर्नुपर्यो ।’ 

होटल संघ नेपाल (हान)का पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा विमानस्थलले पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए । पोखरा विमानस्थल सञ्चालन भएपछि यो शहरलाई भारतका विभिन्न शहर हुँदै एशियाका अन्य शहरहरुसँग जोड्न मद्दत गर्ने उनले बताए । 

सुवेदीले पोखरा विमानस्थल सञ्चालन हुने बित्तिकै राति पनि आन्तरिक उडान हुने र यसले पर्यटकीय गतिविधि झन बढाउने बताए । यसबाट एकै दिनमा काठमाडौंलगायतका शहरमा फर्किन पनि सहज हुने उनको विश्वास छ । 

सुवेदीले कोरोना महामारीबाट थल्ला परेको पर्यटन व्यवसाय यो विमानस्थल सञ्चालनमा आएपछि चलायमान हुन्छ कि भन्ने आशा बढेको बताए । 

अहिले पोखरामा विद्यालयहरुबाट शैक्षिक भ्रमणमा आउनेहरुको संख्या पनि निकै बढेको छ । रेस्टुरेन्ट र बार एशोसियशनको आयोजनामा पोखरामा पुस १३ बाट सडक महोत्सव पनि हुन लागेको छ । यो महोत्सव हरेक बर्ष हुने गरेको छ । अंग्रेजी नयाँ बर्ष पनि नजिकिएकाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको मौकामा पोखरामा पर्यटकहरु भरिने व्यवसायीहरुको आशा छ । 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले अन्तर्राष्ट्रिय उडानहरुलाई पोखरामा आउन कसरी प्रोत्साहन गर्ने ? भनेर आफूहरु पनि लागिरहेको र नेपाल नागरिक उड्डयन प्राधिकरणको पनि ध्यानाकर्षण गराइरहेको बताए । 

उनले भने, ‘विदेशी एयरलाइन्सहरु पोखरामा आउन  उत्साहित नै देखेका छौं । उनीहरुले हेर्ने भनेको व्यापार हो । हामी जजिरा एयरवेजसँग पनि बसेरा छलफल गरिसकेका छौं । भैरहवा विमास्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गरेको जजिराले हो । जजिरा पोखराबाट पनि पहिलो उडान गर्न इक्छुक छ ।’ 

Advertisement

Advertisement