उत्पादन घटेर लोडसेडिङ गर्नुपर्ने बाध्यतापछि फेरि भारतबाट विद्युत आयात सुरु

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात बढाको छ । हिउँद लागेसँगै नदी तथा खोलाहरुमा पानीको बहाब कम भएर विद्युत उत्पादन कम भएको भन्दै प्राधिकरणले आयात बढाएको हो । 

प्राधिकरणले गएको मंगलबार करिव दुई हजार तीन सय मेगावाट आवर विद्युत् आयात गरेको छ । सोही दिन उसले करिव आठ सय मेगावाट आवर मात्रै विजुली निर्यात गरेको छ । नदीमा पानी घट्ने क्रम अझै बढ्ने भएकाले उत्पालनमा अझै कमी आउने र आयात बढ्ने प्राधिकरण स्रोतको भनाई छ । 

Advertisement

बर्षाको समयमा विद्युत खपत नभएर खेर फाल्नुपर्ने अवस्थामा रहेको प्राधकरणले हिउँदमा भने विद्युत खपत र उत्पादनको रणनीति बनाउन नसक्दा तालमेल नमिल्ने गरेको छ । हिउँदको समयको अभाव पूर्ति गर्न जलाशययुक्त आयोजनाहरुको निर्माण जोड दिँदै आए पनि यस्ता आयोजना कुलेखानीपछि अरु थप्पिन सकेका छैनन् । 

विद्युत उत्पादन बढाउन पीपीए (विद्युत खरीद बिक्री सम्झौता) खोल्न निजी क्षेत्रले आग्रह गर्दै आए पनि धेरै उत्पादन भए खेर जाने र संस्था टाट पल्टिने अनुमानका आधारमा प्राधिकरण विगत चार बर्षदेखि मौन बस्दै आएको छ । विद्युत खरीद बिक्रीमा प्राधिकरणको एकाधिकार रहँदै आएको छ । 

उत्पादन घटेसँगै प्राधिकरणले ठूला उद्योगहरुलाई विद्युत खपत घटाउन पनि निर्देशन दिइसकेको छ । फोन गरेर प्राधिकरणका कर्मचारीहरुले उद्योगहरुलाई यस्तो आग्रह गर्न थाले पनि प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले विद्युत कटौती गर्न खोजेको अस्वीकार गर्दै आएका छन् । भारतबाट विद्युत आयात बढाएको कुराले भने त्यो कुरालाई पुष्टी गर्छ । 

उत्पादनमा कमी आएसँगै पछिल्ला दिनमा अघोषितरुपमा विद्युत कटौती हुने क्रम बढेको छ । प्राधिकरणले भारतलाई सस्तोमा बिजुली बिक्री गर्दा भारतबाट भने महंगोमा किन्न बाध्य हुने गरेको छ । 

Advertisement

Advertisement