फेरि बढ्यो अण्डाको मूल्य, व्यवसायी भन्छन– अझैलागत मूल्यभन्दा कममा बिक्री गर्दैछौं

Advertisement

चितवन । अण्डाको मूल्य फेरि बढ्न थालेको छ । बजारमा माग बढ्दै गएको भन्दै शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट)को रु तीन सय ६० तय गरिएको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । संघका अनुसार लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री भइरहेकोले बढाउनु परेको हो ।     
     
यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । 

Advertisement

उनले भने, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”     
     
औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको पोखरेलको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेल बताउँछन् । 
     
हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।     
     
उनले भने, “सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ ।” निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन् ।  

Advertisement

Advertisement