अनुकुलको सरकार बन्नासाथै चिनियाँ पक्ष सक्रिय, उत्तरी नाका खुल्यो, रेलमार्गको अध्ययन सुरु

Advertisement

काठमाडौं । आफ्नो अनुकुलको सरकार बन्नासाथै नेपालमा चीन सक्रिया हुन थालेको छ । नयाँ सरकार बनेको एक साता बित्न नपाउँदै उत्तरतर्फको प्रमुख व्यापारिक रसुवागढी नाका खुलेको छ भने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आएको छ । 

कोभिड १९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी चीनले रसुवागढी नाका खुला गरेको हो । तातोपानीसहित अरु नाकाहरु पनि खोल्ने तयारी भएको जनाइएको छ । झण्डै अढाई बर्षदेखि करिव बन्द जस्तै रहेको केरुङ नाका खुलेसँगै दुवै देशको आयात निर्यात सहज हुने भएको छ । यसले नेपालमा आर्थिक गतिविधि बढ्नुका साथै विकास निर्माणका कार्यमा समेत सहयोग पुग्ने आशा लिइएको छ । 

Advertisement

नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । नेपालबाट तामाका भाँडाहरु निर्यात भएको हो । 

यसअघि चिनियाँ पक्षले निकै अनुरोध गर्दा पनि उत्तरी नाकाहरु खोल्न आनाकानी गर्दै आएको थियो । नाका नखोल्दा नेपाली व्यवसायीका करोडौं मूल्यमा सामान सीमा नाका पारी महिनौंसम्म अलपत्र परेका थिए । 

त्यस्तै, बहुचर्चित काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट आज प्राविधिक टोली नेपाल आइपुगेको छ । चीनको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनीका प्राविधिकहरु काठमाडौं आइपुगेका हो । रणनीतिक महत्वको यो रेलमार्ग बनाउन यसअघि पश्चिमा समर्थनको सरकारले बेवास्ता गर्दै आएको थियो । 

प्राविधिक टोलीले ४२ महिनामा यस रेलमार्गको अध्ययन प्रतिवेदन चिनियाँ खर्चमा नै तयार गर्नेछ । मुलुकको तरल राजनीति, कोभिड महामारीका कारण यो अध्ययन ढिलो भएको हो । यो आयोजनाको लागत महंगो हुने भएकाले सकेसम्म चिनियाँ अनुदान सहयोगमा नै बनाउन नेपालले प्रयास गर्दै आएको छ । 

Advertisement

Advertisement