बैंकको चर्को ब्याजदरबाट पीडित भैयो, आत्महत्या गर्न बाध्य नबनाउ भन्दै व्यवसायी सडकमा

Advertisement

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबाट आफूहरु पीडित भएको भन्दै सोमबार सडकमा उत्रिएका छन् । उनीहरुले बैंकहरुले आतंक मच्चाएको भन्दै ३५ दिने सुचना निकालेर घर लिलामी गर्न थालेको गुनासो गरे । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माईतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

Advertisement

व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा  वित्तीय संस्थाहरुले आतंक फैल्याउँदा व्यवसायीहरु पीडित भएको भन्दै महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गरे । दुई वर्ष अगाडि आठ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्याएकाले व्यवसायीहरु मर्कामा परेको उनको गुनासो छ । 

कार्कीले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेकोे बताए । उनले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको बताए । कार्कीले बैंकको चर्को ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित भएकाले राज्यले बैंक ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता काम रोक्नुपर्ने बताए । 

उनले बैंकहरुले कर्जा तिर्नको लागि समय माग गर्दा समेत नदिएको बताए । अध्यक्ष कार्कीले बैंकहरुले धितोलिलामी गरेर हजारौं व्यवसायीहरुलाई सुकुम्वासी बनाउन खोजेको अरोप लगाए । उनले महासंघले उठाएका माग सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने बताए । कार्कीले महासंघले लामो समयदेखि व्यवसायीहरुको माग सम्बोधन गर्नको लागि सबैसँग पहल गर्दा पनि नहुने देखिएपछि सरकारको आँखा खोल्न सडक आन्दोलनमा आएको बताए । 

महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरुका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताए । उनले बैंकहरुले ब्याजदर बढाएर आंतक मच्याएकाले बैंकको आंतक रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको बताए । 

कटुवालले व्यवसायीहरुको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताए । उनले व्यवसायीहरुले उठाएका मागहरु सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरु वृहत आन्दोलनमा उत्रने बताए । कटुवालले बैंकको आंतक बढ्दै गएमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने चेतावनी दिए । 

उनले सरकारले उद्योगी व्यवसायीहरुलाई समेत  राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाए । कटुवालले सरकारको व्यवसायीमैत्री नीति नहुनु र बैंकहरुको आंतकको कारण व्यवसायीहरुले आत्महत्या र आत्मदाह गर्न समेत बाध्य बनाएको गुनासो गरे । 

महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भएपनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको बतायन् । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृति लिएको बताइन् । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरुले व्यापार व्यवसाय नगरेको बताउँदै बैंकहरुले असहज अवस्थामा सहजीकरण गर्नुपर्नेमा उल्टो ब्याजदर उच्च बनाएर पीडित बनाएको बताइन् । 

राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज श्रेष्ठले बैंकको उच्च ब्याजदरको कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । उनले बैंकको चर्को ब्याजदर सरकारले नियन्त्रण गर्न आवश्यक रहेको बताए । 

सडक आन्दोलनमा व्यवसायीले बैंकिङ आतङ्क बन्द गर, बैंक सधैँ नाफामा उद्योगी, व्यवसायी घाटामा !, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दै छ, बैंकिङ ब्याजदर एकल अंकमा ल्याउ, ब्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाऔँ राष्ट्रिय अर्थतन्त्र उठाऔँ, स्व. प्रेम आचार्यका माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगीव्यवसायी एक हौँ, उद्योगी, व्यवसायी आत्महत्या गर्न बाध्य नपार, सहज व्यवसायिक वातावरण कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

Advertisement

Advertisement