महानगर पीडित सडक व्यापारीको गुनासो– गरीब भएर  जन्मनु नै हाम्रो कमजोरी भएछ

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा पैदलमार्गमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई हटाउँदै आएको छ । यस खालको व्यवसायले एकातिर शहरलाई अव्यवस्थित बनाएको छ भने अर्कोतर्फ त्यसैबाट गुजारा गर्दै आएका साना व्यवसायीका लागि कठिन दिनहरु सुरु भएका छन् । 

गाउँमा सरकारले अवसरहरु सिर्जना गर्न नसक्दा मानिसहरु के विदेशिनुपर्ने कि शहरकेन्द्रीत हुनुपर्ने बाध्यता हुँदै आएको छ । यही क्रममा काठमाडौं आएर सडक र सडकपेटीमा व्यवसाय गर्नेहरु यतिबेला सकसमा छन् । महानगरको प्रमुखमा बालेन्द्र (बालेन) शाह निर्वाचित भएर आएसँगै जथाभावी व्यवसाय गर्नेहरुलाई हटाउने क्रम सुरु गर्दा न्यून आयस्तरका धेरै व्यवसाय त्रासैत्रासमा व्यापार गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । 

Advertisement

आफूहरुलाई महानगरले कुनै व्यवस्थित ठाउँ खोजेर, समय तोकेर व्यापार गर्ने गर्ने अवसर प्रदान गर्नुपर्ने बताउँदै विद्यामाया खत्रीले भनिन्, ‘हामीलाइ पनि फुटपाथमा व्यापार गर्ने रहर होइन् । कुनै ठाउँ खोजेर समय तोकेर व्यापार गर्ने अवसर महानगरले गरिदियोस् ।’

मुलपानीका किसानले कोटेश्वरसम्म ल्याएका चम्सुर, रायो, पालुङ्गोका सय मुठा साग अनामनगरको सडकपेटीमा ल्याएर २० देखि ३० रुपियाँमा बिक्री गर्ने गरेको बताउँदै उनले यसरी व्यवसाय गर्दै आएको तीस बर्ष भइसकेको बताइन् । 

आठ जनाको परिवार पाल्नुपर्ने जिम्मेवारीमा रहेकी खत्री महानगरले धेरै अन्याय  गरेको बताउँछिन् । गएको मंसिर महिनामा साग किनेको छ हजार रुपियाँ ऋण अझै तिर्न नसकेको उनले बताइन् । खत्री भन्छिन्, ‘गाँउ जाउँ भने गरेर खाने खेतबारी छैन् । व्यवसाय गर्न सरकारले दिँदैन ।अरु कमाइ छैन् । धेरै गाह्रो भएको छ । पृथ्वीमा किन जन्म किन लिएर आइछु ? जस्तो लाग्छ । 

गरीब हुनु नै हाम्रो कमजोरी हो ? भन्दै रुँदै उनले दुखेसो पोखिन । खत्रीले आफूलाई सड्कपेटीमा बसेर व्यापार गर्ने कुनै रहर नभएको बताउँदै बाध्यता भएको बताइन् । व्यापार गर्न बस्दा महानगरका प्रहरी आएर सामान फाल्दिने कुल्चिदिने गर्ने गरेको खत्रीको भनाई छ । 

महानगरले उठाएको सामान लिन जाँदा किनेको भन्दा बढी रकम तिर्नुपरेकोले लिन नजाने बताउँदै खत्रीले भनिन्, ‘कुनै दिन साग किनेको सावाँ नै नउठी रुदै घर फर्कनुपर्ने हुन्छ ।’

खत्रीसँगै व्यापार गर्न बसेकी अर्की व्यापारी अन्जु कार्की भन्छिन, ‘दुई हजारको लगानीले दैनिक पाँच सय रुपियाँ जति नाफा हुन्छ । कोटेश्वरदेखि साग ल्याउँदा बस भाडा, साग राख्ने प्लास्टिक किन्दा केही फाइदा छैन् । मुठामा पाँच–दश रुपिया फाइदा हुने हो । त्यसमा पनि बढी भयो, घटाएर दिनु भन्ने पनि आउँछन् ।’ 

साग बिक्री नहुँदा कहिले काहीं गाईलाई खुवाउनुपर्ने हुन्छ भन्दै उनले महानगरको ज्यादती र व्यापार नहुने समस्या त छँदैछ, कम मूल्यमा साग दिनुभन्दा साह्रै दुःख लाग्छ भनिन् । कार्की भन्छिन्, ‘कोरोना महामारी भन्दा अगाडि सागको व्यापार राम्रै थियो । घर खर्च गर्न सहज थियो । अहिले त आफूलाई आवश्यक एउटा सानो मोबाइल किन्न पनि सकेको छैन् ।’

महानगरले हरेक टोल–टोलमा तरकारी बेच्ने ठाउँ बनाइदिए उचित हुने तरकारी किन्न आएका एक स्थानीयले बताए । उनले उपभोक्ता र व्यापारी दुवैलाई सहज हुने गरेर ठाउँ तोकिदिए त्यसले अहिलेको समस्या समाधान हुने र सडकपेटी पनि सफा हुने बताए । 

Advertisement

Advertisement