राज्यले सुरक्षा नदिने भए निजी क्षेत्रले जलविद्युत आयोजना बनाउन नसक्ने अवस्था आयोः गर्ग

Advertisement

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधवार पत्रकार सम्मेलन उसले फागुन १५ गते सिन्धुपाल्चोकको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजनाको निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांधातिक आक्रमणको भत्र्सना गर्दै सुरक्षा मागेको हो । 

जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल, अराजक तथा अपराधिक घटना भएको बताउँदै इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षति भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र  घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरेको छ । पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै उनले सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । 

Advertisement

गर्गले जलविद्युत जस्ता आयोजनामा स्थानीय वडाध्यक्ष सहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने बताए । उनले यस्ता घटनाले सिन्धुपाल्चोकलगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भीररुपमा ध्यान जान आवश्यक रहेको बताए । 

गर्गले सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन, सीता जलविद्युत आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानून अनुसार कारबाही गर्न माग गरे । 

उनले यस जलविद्युत आयोजनाको निर्माण कार्य शुरुवातदेखि विभिन्न आक्रमणहरु भइरहेको बताए । गर्गले एमालेका कार्यकर्ताहरुले  केही समयअघि काम दिन माग गर्दै पत्र पठाएको बताउँदै अब राज्यले सुरक्षा दिन नसक्ने भएर निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको बताए । 

Advertisement

Advertisement