बीमा ऐन भन्छ– त्रैमासिकरुपमा वेभसाइट अद्यावधिक गर्नु, तर बीमा प्राधिकरणले गर्छ एक बर्षमा

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आफैले बीमा ऐनको उल्लङ्घन गर्दै आएको फेला परेको छ । हाल १८ जीवन बीमा र १८ निर्जीवन तथा दुई वटा पुनर्बीमा कम्पनीको नियामक निकाय आफैले बीमा ऐनको दफा ३५ उल्लङघन गरेको पाइएको हो ।

उक्त दफा ३५ मा सूची प्रकाशन गर्नुपर्ने व्यवस्था छ । दफा ३५ (१) मा प्राधिकरणले इजाजत प्राप्त बीमकको अद्यावधिक सूची प्रत्येक तीन महिनामा कम्तीमा दुई वटा राष्ट्रियस्तरको दैनिक पत्रिका र प्राधिकरणको वेभसाइटमार्फत सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । 

Advertisement

यसअघि सो दफाको केही हदसम्म प्राधिकरणले पालना गरे पनि पूर्ण कार्यान्वयन गर्न सकेको छैन् । प्राधिकरणले बीमकहरुको सुची प्रत्येक तीन महिनामा प्रकाशित गर्नुपर्नेमा बार्षिकरुपमा मात्रै अद्यावधिक गर्ने गरेको छ । 

त्यस्तै, प्राधिकरणले बीमा ऐनको दफा ३५ (२)को पनि पालना गरेको छैन् । उक्त उपदफाअनुसार बीमा कम्पनीहरुले सार्वजनिक गर्ने सूचीमा उनीहरुले कारोबार प्रारम्भ गरेको मिति, चुक्ता पूँजी, बीमाशुल्क, दाबी तथा प्राधिकरणले निर्धारण गरेका अन्य विवरणहरु समावेश गर्नुपर्ने उल्लेख छ । 

प्राधिकरणका केही वरिष्ठ कर्मचारी तथ्यांकको अभावका कारण सेभसाइटमा विवरण अद्यावधिक गर्न नसकेको बताउँदै कानुनअनुसार सुची अद्यावधिक गर्ने कुरालाई प्राधिकरणले बेवास्ता गर्न नहुने कुरा स्वीकार गर्छन् । 

प्राधिकरणको वेभसाइटमा बीमकहरुको बीमाशुल्क त्रैमासिक रुपमा प्रकाशित हुने गरे पनि बीमकहरुको चुक्ता पुँजी, कम्पनीहरुमा परेको दाबीको अवस्था भने सार्वजनिक हुने गरेको छैन् । प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले कर्पोरेट नेपालसँग भने, ‘बीमा प्राधिकरणको वेभसाइटमा दाबीको विवरण छैन् । गत आर्थिक वर्षको दाबीको अवस्था चाहिएमा वेभसाइटमा छ । तर हामीले दाबीको रकम मासिक रुपमा राख्दैनौ । यस्तो विवरण मासिक, त्रैमासिक, अर्धवार्षिक भन्दा पनि वार्षिकरुपमा मात्रै राख्दै आएका छौं ।’ 

बीमा क्षेत्रमा आर्थिक हैसियत कम भएका मानिसलाई ललाईफकाई करौडौंं रुपियाँ बीमांकको बीमा गराउने र अपराधिक घट्ना घटाएर छोटो समयमा नै ठूला दाबी आउने सम्भावना भएकाले दाबी भुक्तानीको तथ्यांक सार्वजनिक गर्न ढिलाई गरेको प्राधिकरणका कर्मचारीहरुको भनाई छ । 

प्राधिकरणले सुशासनमा बीमा कम्पनीहरुलाई अत्यन्तै कडा नीति अपनाउन थालेको छ । यस्तो बेलामा प्राधिकरण आफै भने बीमा ऐनको पूर्ण परिपालनामा उदासिन देखिएको छ । 

अहिले बैंकिङ क्षेत्रमा पनि ‘रियल टाइम डाटा’ अभ्यासमा ल्याइएको छ । स्वयम प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्पोरेट नेपालसँगको यसअघिको कुराकानीमा नेपालको शेयर बजारले सुचना दिने कुरामा फड्को मारेकाले बीमा क्षेत्रले पनि सो कुरालाई आत्मसाथ गर्नुपर्ने स्वीकार गरेका थिए । उनले सुझावअनुसार सुचना प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन आफूहरु प्रतिवद्ध रहेको बताए । 

Advertisement

Advertisement